काठमाडौँ, १० मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताएका छ ।
उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषद्को प्रथम बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै उनले उत्पादनका नयाँ क्षेत्र पहिचान गरी त्यसलाई कार्यान्वयन गरेर दुई अङ्कको आर्थिक वृद्धिसहित समृद्धि हासिल गर्न सकिन्छ भने ।
उनले भने, “परम्परागत ढङ्गले धान, गहुँ, आलु फलाएर मात्र आर्थिक वृद्धि र समृद्धि हासिल हुँदैन, खनिज पदार्थको उत्खनन र कृषिको आधुनिकीकरणमार्फत देशलाई समृद्ध बनाउन सकिन्छ ।”
प्रधानमन्त्री ओलीले देश निर्माणको प्रमुख आधार सुशासनको पालनामा निजी र सरकारी सबै क्षेत्र सजग हुनुपर्ने बताउँदै सरकार यथाशक्य लचिलो भएर ऐनकानून परिमार्जन गर्न तयार रहेको जानकारी दिए ।
सङ्घीय संसद्को आगामी अधिवेशनमा आफ्ना क्षेत्रमा भएका ऐनकानूनका अप्ठ्यारालाई लिपिबद्ध गरेर संसद् सचिवालयमा बुझाउन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । उनले भने, “संसद्को आगामी अधिवेशनमा संशोधन गर्नुपर्ने ऐनकानूनहरु कारणसहित पेश गर्नुहोस्,हामी त्यसलाई अध्ययन गरेर सजिलो बनाउने प्रयास गर्छौं ।”