इलाम, ९ मङिसर । चियाका प्रसिद्ध इलाममा पछिल्लो समय धमाधम चिया उद्योग स्थापना हुन थालेका छन् । खेतीयोग्य नगदेबालीका रूपमा चियालाई मान्न थालेपछि अहिले किसान चिया उद्योग स्थापना गर्न लागेका हुन् ।

किसान आफैँ उद्यमी बन्दा उचित मूल्य र पारिश्रमिक पाइने भएकाले उद्योग स्थापना गर्न शुरु गरिएको किसानको भनाइ छ । उद्योग स्थापना गर्ने लहर चलेपछि अहिले एकै गाउँमा नौ वटासम्म उद्योग स्थापना भएका छन् ।

इलाम नगरपालिका–१ स्थित साँखेजुङमा मात्र नौवटा उद्योग स्थापना भएका छन् । यस क्षेत्रका मानिसको प्रमुख आय स्रोत नै चिया भएपछि किसान व्यावसायिकरूपमा चियाखेती तर्फ उन्मुख भएका हुन् ।

यहाँका चिया उद्यमी टङ्क दाहालका अनुसार साँखेजुङमा मात्र वार्षिक ४० हजार टन चिया प्रशोधन गर्ने उद्योग स्थापना भएका छन् । यहाँ १० टनदेखि १०० टनसम्म चिया प्रशोधन गर्ने उद्योग स्थापना भएका छन् ।

चिया तथा कफी विकास बोर्डका अनुसार यहाँ ग्रीन हिल अर्थोडक्स चिया, पाथीभरा अर्थोडक्स चिया, कञ्चनजङ्गा अर्थोडक्स चिया, साङ्ग्रिला चिया प्रालि, साकिरा चिया प्रालि, ग्रीन हील सहकारी चिया उद्योग, गजुरमुखी चिया उद्योग, हिमालयन चिया उद्योग र फस्र्ट आवर चिया उद्योग सञ्चालित छन् ।

केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रबिन राईले ठूला उद्योगबाट उचित पारिश्रमिक र चियाको तोकिएको मूल्य नपाइने डरले अहिले किसान आफैँले उद्योग खोल्न थालेको बताए ।

उनका अनुसार अहिले किसान आफैँ सचेत हुन थालेकाले नाफाकै लागि पनि उद्योग स्थापना गर्न थालेका हुन् । “अब किसान सचेत भइसकेका छन्, अर्काको दबाबमा बसेर अर्काले दिएको मूल्यमा किसान चित्त बुझाउन चाहँदैनन्”, राईले भने, “ठूला उद्योगले भनेको समयमा ज्याला पनि नदिने भएकाले किसान आफैँउद्यमी बन्न प्रेरित भएका हुन् ।” नेपालमा चिया प्रशोधनका लागि ११३ वटा उद्योग सञ्चालनमा रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!