मुक्तिनाथ, ९ मङ्सिर । सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशले हिमालपारिको जिल्ला मुस्ताङस्थित पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरबाट लैङ्गिक हिंसाविरुद्धको अभियान शुरु गरेको छ ।

Advertisement

समाजमा लैङ्गिक विभेदकै कारण महिलाप्रति शारीरिक, मानसिक एवं यौनजन्य हिंसात्मक व्यवहार भइरहेको वास्तविकतालाई दृष्टिगत गर्दै महिला तथा बालबालिकामाथिका सबै किसिमका हिंसा, दुव्र्यवहार र शोषणको अन्त्यका लागि सामाजिक जागरण ल्याउन अभियान शुरु गरिएको हो ।

‘लैङ्गिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार’ भन्ने मुख्य नारासहित शुरु गरिएको १६ दिने अभियानमा उक्त स्थान पुगेको महासङ्घको टोलीसहित स्थानीय जनप्रतिनिधि, ठूलो सङ्ख्यामा भक्तजनको सहभागिता रहेको थियो ।

यौनजन्य दुव्र्यवहारको आवरणसँग प्रभावित हुने नीति तथा ऐन कानूनहरूको बारेमा सबै समुदायिक वन उपभोक्ता समूह, महासङ्घका सबै तहका संरचना तथा क्षेत्रहरूमा सुसूचित गराउने कार्यक्रमको उद्देश्य रहेको महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले जानकारी दिनुभयो ।

महासङ्घले सञ्चालन गरेको अभियान प्रदेशका सबै जिल्लामा सञ्चालन गरिने जानकारी दिदै उहाँले अभियानअन्तर्गत लैङ्गिक हिंसा विरुद्ध १७ बुँदे सामूहिक प्रतिबद्धता समेत गरिने कार्यक्रम रहेकोछ ।

जात, जाति, धर्म, भाषा, लिङ्ग, लैङ्गिकता, उमेर, राजनीतिक, सामाजिक, भौगोलिक, पहुँच वा सम्बन्ध, शारीरिक बनावट तथा अवस्था, वैवाहिक स्थिति लगायत अन्य कुनै पनि आधारमा भेदभाव नगरी सबैलाई समान र मर्यादित व्यवहार गर्ने गराउने अभियानको लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

यौनजन्य दुव्र्यवहारको सम्बन्धमा शून्य सहनशीलताको नीति अवलम्बन गरी सबैले सेवा शर्तसम्बन्धी प्रचलित नियम, कानूनले तोकेको सीमा तथा सङ्गठनात्मक व्यवस्था अनुसार पदीय मर्यादा कायम गर्नुपर्ने अभियानको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको सन्दर्भमा विभिन्न तीन समूहमार्पmत हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरबाट आज बिहान शुरु गरिएको अभियानअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोममा महासङ्घ गण्डकी प्रदेश, धरपजुङ गाउँपालिका र पाइला नेपालद्वारा संयुक्तरूपमा आजै कार्यक्रमको आयोजना समेत गरिएको महासङ्घ केन्दीय सदस्य जमुना थकालीले जानकारी दिनुभयो ।

पछिल्लो समय समाजमा बढ्दै गएको विभिन्न किसिमका हिंसाको न्यूनीकरण गर्ने उद्देश्यले महासङ्घले सरोकारवाला विभिन्न सङ्घसंस्था, सरकारी कार्यालय, जनप्रतिनिधि लगायतको उपस्थितमा लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन गरेको महासङ्घका केन्द्रीय सदस्य सरिता कुमालले बताउनुभयो ।

विश्व महिला हिंसा अन्त्य दिवसका दिन आजदेखि मुलुकका सातवटै प्रदेशमा सञ्चालन गरिएको अभियानअन्तर्गत गाउँदेखि जिल्ला, प्रदेश र सङ्घमा जनचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरी मङ्सिर २४ गते मानव अधिकार दिवसका दिन काठमाडौँमा समापन गरिने महासङ्घका केन्द्रीय अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो ।

आर्थिकरूपमा महिला समृद्ध नभएसम्म मुलुकबाट सबैखाले हिंसा अन्त्य नहुने बताउँदै उहाँले त्यसका लागि प्रत्येक वन समुहबाट महिला सशक्तीकरणका कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाउन महासङ्घले तयारी गरिरहेको बताउनुभयो ।

महिला र बालिकामाथि हुने हिंसाको जिम्मेबार पुरुष नै भएको र पुरुषले नै यस्ता जघन्य अपराध न्यूनीकरणमा सहभागी हुनुपर्छ भन्ने सकारात्मक सन्देश दिने उद्देश्यले सन् १९९१ मा क्यानडाका केही पुरुषहरूले सेतो रिबन अभियान शुरु गरेको र सोही दिनलाई विश्व महिला दिवसका रूपमा मनाउन थालिएको हो । यसै दिनमा नेपालमा पनि उक्त दिवस मनाउने गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!