भोजपुर, ७ मङ्सिर । जिल्ला सदरमुकाममा निर्माण थालिएको शहीद स्मृति कभर्ड हल अहिले अलपत्र बनेको छ । तत्कालीन माओवादी नेतृत्वको सरकारले शहीदको सम्झनामा पाँच वर्षअघि निर्माण थालेको हल अलपत्र हुँदा अहिले त्यहाँ झाँडी बनेको छ ।

Advertisement

निर्माण कार्यले निरन्तरता नपाउँदा सरकारको लाखौँ लगानी खेर गइरहेको छ । २५ लाखको लागतमा निर्माण थालिएको सो हल जग हालेपछि अलपत्र बनेको हो । एक रोपनी बढी क्षेत्रफलमा निर्माण शुरु गरिएको उक्त हलका लागि  पाँच लाखभन्दा बढी खर्च भैसकेकामा अहिले बनेका संरचना पनि भत्किन थालेको छ ।

निर्माण गर्ने भनेर काम थालेपछि सरकार फेरबदल हुँदा निर्माणले प्राथमिकता नपाइ अलपत्र बनेको तत्कालीन निर्माण समितिका अध्यक्ष सूर्य गोलेले जानकारी दिए । उनले भने, “त्यो समयका सरकारले शहीदको सम्झानामा निर्माण शुरु गरेको तर अर्को सरकार बनेपछि बजेट नआउँदा भइरहेको काम अलपत्र बनेको हो ।”

हल निर्माणका लागि तयार गरिएको पिल्लर तथा वरिपरि लगाएको गारो भत्किसकेको छ भने हल आसपास झाँडी बनेको छ । लामो समयदेखि हलको यस्तो अवस्था भए पनि सरोकारवाला निकायले ध्यान दिएर यसको निरन्तरताका लागि पहल गरेको देखिँदैन ।

योसँगै यस्ता खालका अन्य विकास निर्माणका कामलाई सरकारले कडाइका साथ अनुगमन गरेर निरन्तरता दिनुपर्ने स्थानीयवासीे सुरेन्द्र श्रेष्ठले बताए । उनले भने, “यो मात्र होइन, जिल्लामा अलपत्र अवस्थामा रहेका दर्जन बढी संरचनाको हालत यस्तै छ, सरकारले यस्ता कामको अनुगमनसँगै निरन्तरता दिनुप¥यो ।”

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!