भद्रपुर, ६ मङ्सिर । गुलियो र पोषिलो मानिने मेवालाई फलफूलको ‘राजा’ मानिन्छ । लटरम्म पहेलपुर भएर फलेका मेवाका बोट गाउँघरमा जहाँ पनि देख्न पाइन्छ । तर यसको व्यावसायिक खेती भने हुन सकेको छैन ।

स्वास्थ्यका लागि अति गुनिलो फल मेवाको माग पोराख, नेपालगञ्ज, काठमाडौँलगायत प्रमुख शहर र बजारमा राम्रै छ । बजारमा बढ्दो माग र उत्पादन कम भएको अवस्थामा झापाका दुई किसानले मेवाको व्यावसायिक खेती शुरु गरेका छन् । परीक्षणका लागि गरिएको यो खेती सफल भएमा आगामी वर्षदेखि मेवा खेती विस्तार हुने किसान बताउनुहुन्छ ।

मेचीनगर नगरपालिका–९ का डिल्ली उप्रेती र अर्जुनधारा नगरपालिका–१० का प्रेमसागर सापकोटाले मेवाको व्यावसायिक खेती शुरु गर्नुभएको हो । सापकोटाले वार्षिक रु ४० हजार प्रतिबिघाका दरले तीन बिघा जमीन लिजमा लिएर मेवाको सात हजार बिरुवा हुर्काउनु भएको छ ।
सापकोटाले रोपेको ६ महीनामा मेवाको बोट तीन फिट अग्लो भएको छ भने लटरम्म फल लाग्न थालिसकेको छ ।

भारतको कोलकाताबाट प्रतिकेजी रु एक लाखमा उहाँले मेवाको विनायक जातको बीउ किनेर ल्याई आफैँ बेर्ना तयार गरेको बताउनुभयो । “बिरुवा रोपेको ६ महीनामै फल्न थाल्यो”, सापकोटाले भन्नुभयो, “१० महीनाको भएपछि पाक्छ र बजारमा निकाल्छौँ ।” उहाँले फल्न शुरु गरेसँगै बगानमै मोलतोल गर्दै व्यापारीहरु आउन थालेको बताउनुभयो । एउटै फल तीन केजीसम्मको हुने, एउटा बोटबाट बर्षेनी १७५ केजीसम्म फल उत्पादन हुने र तीन वर्षसम्म बाह्रैमास फल लागिरहने भएकाले मेवा खेतीबाट मनग्य फाइदा हुने सापकोटाले आशा गर्नुभएको छ ।

उहाँ अर्जुनधारा नगरपालिकाको नेकपाका अध्यक्ष हुनुहुन्छ । राजनीति गर्नेले उत्पादन र उद्यमशीलतामा लाग्नुपर्छ भन्ने सन्देश दिनसमेत आफू मेवाखेतीमा होमिएको बताउनुहुन्छ सापकोटा । मेचीनगर–९ का डिल्लीराम उप्रेतीले लिजमै लिएको १० कट्ठा जमीनमा एक हजार विनायक जातको बिरुवा हुर्काउनु भएको छ । उहाँले डी एण्ड डी बायोप्लानटेक नामक संस्थामार्फत मेवाखेती गर्नुभएको हो । उहाँको खेतीमा पनि मेवा लटरम्म फल्न थालिसकेको छ ।

विगत आधा दशकदेखि नर्सरी र कृषि क्षेत्रमा सक्रिय उप्रेतीले पहिलोपल्ट परीक्षणका लागि मेवाखेती गरेको बताउनुभयो । “मेवाखेती फाइदाजनक छ भन्ने हाम्रो अनुमान हो”, उहाँ भन्नुहुन्छ, “जण्डिस र आँखा कमजोर भएका बिरामीले नियमित सेवन गर्ने औषधीय गुणसमेत भएको कारण बजारमा यसको बिक्रीको कुनै समस्या नै हुँदैन ।”

मेवाखेतीमा कम लगानीमै धेरै उत्पादन गर्न सकिने हुँदा आफूले सोचविचार गरेरै मेवाको व्यावसायिक खेती शुरु गरेको बताउँदै उप्रेतीले भन्नुभयो, “यो वर्ष १० कट्ठामा लगाएको छु, राम्रो भयो भने अर्को साल दुई बिघामा थप्ने तयारी गर्दैछु ।” झापामा पहिलोपटक मेवाको व्यावसायिक खेती गरिएको हुँदा उप्रेती र सापकोटा दुवैले प्राविधिक समस्या भने झेल्दै आउनुभएको छ ।

अर्जुनधारा नगरपालिकाका कृषि अधिकृत शालिकराम भट्टराई झापाको माटो मेवा खेतीका लागि उर्वर रहेको बताउनुहुन्छ । उहाँले दोमट र चिम्ट्याइलो कालो माटोमा फस्टाउने भएकाले झापाको अधिकांश ठाउँमा मेवाखेती हुने बताउनुभयो । उहाँले सरकारले मुलुकलाई समृद्ध बनाउने उद्देश्यअनुरुप कृषिमा करोडौँको बजेट लगानी गरिरहेको हुँदा व्यावसायिक रुपमा मेवाखेती गर्ने किसानलाई प्रोत्साहनस्वरुप कृषि औजारमा अनुदानसमेत प्रदान गर्ने सरकारी नीति रहेको जानकारी दिनुभयो ।

मेचीनगरका किसान डिल्ली उप्रेतीले मेवाखेतीमा हाल पहेँले रोग देखापर्न थालेको बताउनुभयो । तर यस रोगका लागि कस्तो औषधि प्रयोग गर्ने भन्ने ज्ञान नहुँदा प्राविधिकहरुसँग सल्लाह भइरहेको उहाँले बताउनु भयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!