उर्लाबारी (मोरङ) । सबैजना नजिकिँदो स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा रहेका बेला मोरङको मिक्लाजुङ गाउँपालिकाका बासिन्दा भने पहिरोको जोखिमबाट त्रस्त छन् ।

चुरे क्षेत्रका अधिकांश स्थानमा पहिरोको जोखिम बढेपछि सो गाउँपालिकाका तीनवटा वडाका बासिन्दा त्रस्त बनेका हुन् । गत वर्षको वर्षामा केही स्थानमा पहिरो खसे पनि धेरैजसो पहाड चिरा परेर धसिएपछि जोखिमीमा परेको स्थानीय छबिलाल भट्टराईले बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो – “सबै नेता तथा कार्यकर्ता निर्वाचनमा होमिएका छन् तर हामीलाई भने पहिरोे जाने डरले रातदिन पिरोलेको छ । वडा नं– ३ का अधिकांश चुरे पहाड चिरा परेका र बताह खोलाको दुबै किनारमा तीनसय पचास रोपनी पहाड पनि धसिएको छ ।”

पहिरो विस्तारै खस्यो भने त त्यति क्षति नहोला । तर, एकैपटक पहाडै खस्यो भने ठूलो जनधनको क्षति हुनेमा स्थानीयवासीे चिन्तित छन् ।

साविक टाँडी र रमितेखोला गाविसको चुरेक्षेत्र अघिल्लो वर्ष गएको भूकम्पले चिरा परेको हो । पहिरो खसे खहरे खोला थुनिने स्थानीय तीर्थ लिम्बूले बताउनुभयो ।

बर्राबोटेको पहिरो खसेर बताह खोला थुनिएमा मिक्लाजुङ २, ३ र ६ वडाको अधिकांश भाग बगाउने आशंका बढेको छ । पहिरोले उक्त क्षेत्रको धोबिनी बजार पनि जोखिममा रहेको छ । पहिरो नियन्त्रण पहल समितिका संयोजक मानबहादुर श्रेष्ठका अनुसार मिक्लाजुङको पहाडी क्षेत्रमा दर्जन भन्दा बढी स्थान पहिरोको जोखिमीमा छन् । उहाँका अनुसार बर्राबोटे बताह, सिम्ले फेदाफे, जातिफुला, लइखहरे, बाजविरे, नमस्ते, गौथली, धेमे, दिवालिटारसम्मका भागमा पहिरो जाने स्थितिमा छ ।

पहिरो गए चुरे क्षेत्रबाट बग्ने बताह, साखरे र नुनसरी खोला थुनिनसक्छ । पहिरो खसेर अहिले पनि बताह खोलाको अधिकांश स्थान थुनिएको छ । पहिरो नियन्त्रणका लागि जल उत्पन्न प्रकोप डिभिजन कार्यालयदेखि मन्त्रालयसम्म पहल गर्दा पनि सुनुवाइ नभएको श्रेष्ठले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!