काठमाडौ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नयाँ सरकारप्रति आफ्नो पार्टीको पूर्णसमर्थन वा पूर्ण विरोधको नीति नरहने बताउनुभएको छ ।

Advertisement

समसामयिक राजनीतिक विषययमा आज प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले तोकिएको समयमा शान्तिपूर्ण र धाँधलीरहितरुपमा सबै तहको निर्वाचन सम्पन्न गराउने नवनिर्वाचित प्रधनमन्त्री शेरबहादुर देउवाको प्रतिवद्धता पूरा हुनुपर्नेमा जोड दिनुभयो ।

नेता नेपालले सरकारको काम र नीतिका आधारमा एमालेले समर्थन र विरोधको नीति लिने तर आफ्नो पार्टी सरकारमा जान कुनै भाग नखोज्ने बताउँदै असार १४ गते हुने भनिएको दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन समयमा शान्तिपूर्ण र धाँधलीरहितरुपमा हुनुपर्छ भन्नुभयो ।

भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनःमतदान गराउने निर्णय उचित नभए पनि सर्वाेच्च अदालतले यस सम्बन्धमा उपयुक्त निकास दिने अपेक्षा व्यक्त गर्दै उहाँले भन्नुभयो– “नयाँ सरकारले एमालेलाई पन्छ्याएर सर्वस्वीकार्यताको नाममा संविधान संशोधनको प्रयास र स्थानीय तहको सङ्ख्या पुनरावलोन गरिए आफ्नो पार्टीलाई यो मान्य हुँदैन ।”

नेता नेपालले भन्नुभयो” “देशभक्तिको भावनालाई केन्द्रमा राखेर सुशासन, विकास र समृद्धिका काममा सबैलाई समेटेर जान नवनिर्वाचित प्रधानमन्त्रीलाई मौका छ, त्यो उहाँले कसरी गर्नुहुन्छ, हेर्न बाँकी छ ।”

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा तराई– मधेसमा पनि एमाले पहिलो शक्ति हुने दाबी गर्दै उहाँले भन्नुभयो, “कम्युनिष्ट पार्टी हुर्केकै तराईमा हो, हाम्रो पार्टीका अधिकांश महाधिवेशन पनि तराई– मधेसमा नै भएका छन्, त्यसैले त्यहाँ हाम्रो प्रभाव राम्रो रहनेछ ।”

कार्यक्रममा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा, चौतारीका अध्यक्ष गणेश बस्नेतलगायतको सहभागिता थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!