दमौली, २ मङ्सिर । तनहुँको दमौली निवासी भूपाल आलेले आफ्नो जन्मदिनको अवसरमा व्यास नगरपालिका–३ मा निर्माण भइरहेको किरियापुत्री भवनका लागि आर्थिक सहयोग प्रदान गरेका छन

Advertisement

जन्मदिन मनाउँदा हुने फजुल खर्च जोगाएर आलेले भवन निर्माणका लागि रु ५५ हजार ५५५ प्रदान गरेका हुन । भवन निर्माण समितिका अध्यक्ष उपेन्द्र लम्साललाई उक्त रकम हस्तान्तरण गर्दै उनले जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नुभन्दा सामाजिक सेवामा सहयोग गर्नु उत्तम हुने बताए ।

निर्माण समितिका अध्यक्ष लम्सालले भवन निर्माणका लागि सहयोग गरेकामा आलेलाई धन्यवाद ज्ञापन गर्दै भवन निर्माणका लागि सबै क्षेत्रबाट सहयोग प्राप्त हुँदा हौसला मिलेको बताए । व्यास गुफा क्षेत्रको पूर्वतर्फ निर्माणाधीन आठकोठे भवन रु ५० लाखको लागतमा निर्माण हुदैछ । उक्त भवनमा व्यास नगरपालिकाले ८० प्रतिशत लगानी गरेको छ भने २० प्रतिशत रकम सर्वसाधारणसँग सङ्कलन गरिने लम्सालले जानकारी दिए ।

इन्द्र झरनामा क्यानोनिङको सफल परीक्षण

तनहुँको भीमाद नगरपालिका–९ पाथर्दीस्थित इन्द्र झरनामा क्यानोनिङको सफल परीक्षण गरिएको छ । उक्त ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यसहित इन्द्र झरनामा क्यानोनिङको सफल परीक्षण गरिएको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको आग्रहमा पोखरास्थित ड्रिमल्याण्ड ल्वाङ क्यानोनिङले झरनामा क्यानोनिङको परीक्षण गरेको भीमाद नगरपालिका–९ का वडाध्यक्ष इमानसिंह थापाले जानकारी दिए ।

ड्रिमल्याण्ड क्यानोनिङका प्रबन्ध निर्देशक बोनी गुरुङको नेतृत्वमा चार जनाको टोलीले क्यानोनिङको परीक्षण गरेको थियो । ४० मिटर अग्लो झरनामा क्यानोनिङ गर्न उपयुक्त देखिएको गुरुङले बताए । क्यानोनिङको सफल परीक्षणपछि अब यसको पूर्वाधार निर्माणमा जोड दिइने उनले जानकारी दिए ।

उक्त झरना पृथ्वीराजमार्गको शुक्लागण्डकी नगरपालिकास्थित खैरेनीटार बजारबाट २३ किमीको दूरीमा छ । खैरेनीटारदेखि एक घण्टाको मोटरसाइकल यात्रापछि झरनासम्म पुग्न सकिन्छ । खैरेनीटार बजारबाट भीमादसम्म सात किमी पक्की बाटो छ भने त्यहाँबाट झरनासम्म पुग्न ग्राभेल बाटो रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!