काठमाडौँ, २६ कात्तिक । भारतमा हुने विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन् । यही कात्तिक २९ देखि मङ्सिर २४ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा नेपालबाट बिमला श्रेष्ठ र पुनम रावलले सहभागिता जनाउने भएका छन् । बिमलाले ५१ केजी तौल समूहमा तथा पुनमले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

सहभागी हुने दुई खेलाडीसहित चार सदस्यीय नेपाली बक्सिङ टोलीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका सदस्य अर्जुनबहादुर केसी, बक्सिङ सङ्घका अध्यक्ष राम अवाले, कीर्तिमानी पूर्वधावक बैकुण्ठ मानन्धरलगायतले आज यहाँ आयोजित कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

टोलीको प्रशिक्षकमा लालबहादुर पौडेल तथा व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य लक्ष्मण कार्की रहेका छन् । उक्त च्याम्पियनसिपमा विभिन्न ६० राष्ट्रको सहभागिता रहनेछ ।

अध्यक्ष अवालले आफ्नो परिवारका तर्फबाट नगद पुरस्कारको पनि घोषणा गर्नुभयो । खेलाडीलाई एक बाउट जितेमा रु २५ हजार, दुई बाउट जितेमा रु ७५ हजार र पदक जितेमा रु दुई लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभयो । नेपाली टोली मङ्गलबार भारतको नयाँ दिल्ली प्रस्थान गर्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!