कास्की। मैदानको उत्तरमा आँखै अगाडि टाँसिन आइपुग्ने माछापुच्छ«े र अन्नपूर्ण हिमशृङ्खला । खुलेको मौसममा क्रिकेटको महाकुम्भ, जहाँ खेलाडी हिमालतिर फर्केर चौका र छक्का बर्साउँछन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्टार खेलाडीले छक्का र चौका हानेको हेर्न रङ्गशालामा जम्मा भएका दर्शकको बाक्लो उपस्थिति । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिता शुरुआत गर्दै गर्दा आयोजकलाई चिन्ता थियो, दर्शकको उपस्थिति नभएर प्रतियोगिता निरश हुने पो हो की ? चिन्ता पनि किन नहोस्, क्रिकेट प्रतियोगिता कहिल्यै नभएको अनि फुटबल सर्वाधिक रुचाइएको ठाउँ हो पोखरा ।

Advertisement

यही कात्तिक ९ गतेदेखि पहिलोपटक पोखरामा क्रिकेट प्रतियोगिता सञ्चालन भइरहेको छ, मङ्गलबार प्रतियोगिताको अन्तिम खेल हुँदैछ । रमणीय माछापुच्छ«ेको फेदीमा पहिलोपटक प्रतियोगिता आयोजना गरिरहँदा आयोजकको चिन्ता र चासो भने प्रतियोगिता सञ्चालनसँगै हराएको छ । खेलको पहिलो दिनदेखि नै लगातार अस्थायी प्याराफिट दर्शकले खचाखच भरिएको छ ।

बालकदेखि वृद्धसम्मलाई प्रतियोगिताले लोभ्याएको छ । के बालक, के महिला, के वृद्ध सबै उमेर समूहका दर्शक क्रिकेट हेर्न रङ्गशाला पुगिरहेका छन् । दर्शकको चर्को हुटिङ र मनपरेको समूहको समर्थनले प्रतियोगितामा रौनक थपेको आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले बताउनुभयो ।

शुरुआतदेखि नै दर्शकको उपस्थितिले आयोजकको चिन्ता हराएको उहाँ बताउनुहुन्छ । “पोखरा भन्नेबित्तिकै फुटबल आउँछ, यहाँ फुटबल लोकप्रिय छ, तर क्रिकेटलाई जसरी दर्शकले माया गरेर आउनुभएको छ, यसले आयोजकलाई हौसला मिलेको छ”, प्रबन्ध निर्देशक लामाले भन्नुभयो ।

“खेलका लागि यहाँको वातावरण राम्रो भए पनि प्रतियोगिता रोचक बनाउन दर्शक पनि चाहिन्छ, भरिभराउ दर्शकभएपछि खेलाडीको खेल्ने जाँगर पनि बढ्छ”, उहाँको भनाई छ ।

नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा दशर्कले प्याराफिटबाट देउसी भाका हालेर टिमलाई समर्थन गर्दा रङ्गशाला पुग्ने जो कोहीलाई पनि आनन्दित बनाउने गरेको छ ।

राष्ट्रिय क्रिकेट टिम तथा चितवन राइनोजका कप्तान पारस खड्का भरिभराउ दर्शकको माझ खेल्दा जोश बढेर आउने गरेको बताउनुहुन्छ । “खेलाडीका लागि दर्शक नै सबैथोक हो, दर्शकले नै खेलाडीमा जोश जाँगर भर्ने हो, पोखरेलीले खेल हेरेर उत्साह थपिदिनुभएको छ”, कप्तान खड्काले भन्नुभयो ।

पहिलो दिनदेखि नै दर्शकको साथले प्रतियोगिता रोमाञ्चक बनेको उहाँको अनुभूति छ ।

पोखरा–१४ का १४ वर्षीय सोनु खत्री पहिलो दिनदेखि नै रङ्गशालामा उपस्थित भएर म्याच हेरेको बताउनुहुन्छ । टेलिभिजनमा क्रिकेट हेर्ने गर्नुभएका उहाँ पहिलोपटक प्रत्यक्षरुपमा खेल हेर्दा रमाइलो लागेको अनुभूति व्यक्त गर्नुभयो ।

“क्रिकेट मलाई मन पर्ने खेल हो, आइपिएल लगायतका टुर्नामेन्ट टेलिभिजनमा छुटाउन्नथे, अहिले रङ्गशालामै आएर हेर्दा टेलिभिजनमा हेर्दाभन्दा रमाइलो भएको छ”, उहाँले भन्नुभयो ।

खत्रीले दर्शकलाई खेल हेर्न राम्रो सुविधा नभएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । अस्थायी प्याराफिटमा बसेर खेल हेर्दा असुविधा भएको र शौचालयको प्रबन्ध नभएकाले सरकारले क्रिकेट विकासका लागि आधुनिक रङ्गशाला निर्माण गर्नुपर्नेमा उहाँको जोड छ ।

प्रतियोगिताले क्रिकेटप्रतिको माहोल बढाएको र पोखरालाई खेलकूद शहरका रुपमा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा चिनाएकाले क्रिकेट रङ्गशाला बनाउन ढिलाइ गर्न नहुने उहाँको तर्कछ ।

पोखरा रामबजारका ५२ वर्षीय कमलसिंह गुरुङ पनि प्रतियोगिताको नियमित दर्शक हुनुहुन्छ । नेपाल विश्वकप क्रिकेट टि २० प्रतियोगितामा प्रवेश गरेपछि नेपाली क्रिकेटलाई फलो गर्न लागेको गुरुङले सुनाउनुभयो ।

पिपिएलले गर्दा नेपाली र विदेशी स्टार खेलाडीको खेल हेर्ने अवसर मिलेको उहाँ बताउनुहुन्छ । अहिलेको प्रतियोगिताले क्रिकेट खेल विकासमा सहयोग पुगेको उहाँको ठम्याइ छ ।

“कतिपय अभिभावक अहिले बच्चासहित खेल हेर्न आउनुभएको छ, पक्कै पनि त्यसले गर्दा बच्चामा पनि क्रिकेट खेलप्रति रुचि अवश्य बढ्नेछ, उहाँले भन्नुभयो, “अभिभावकलाई पनि आफ्नो बच्चालाई यस खेलका लागि अगाडि बढाउन प्रोत्साहन मिल्नेछ ।”

प्रतियोगितामा हरेक दिन भेटिने पोखरा रामबजारका ७२ वर्षीय वीरबहादुर गुरुङले खेलले क्रिकेटप्रति चासो बढाएको बताउनुहुन्छ । नेपालीको पहिलो रोजाइको खेल फुटबल भए पनि प्रतियोगिताले क्रिकेटप्रति चासो बढाएको उहाँको भनाइ छ ।

खेलले यहाँको पर्यटन प्रवद्र्धनमा पनि सहयोग मिलेको उहाँले बताउनुभयो । फुटबल जसरी नेपालीले सहजै बुझ्छन्, क्रिकेट बुझ्न समय लाग्ने बताउँदै उहाँले प्रतियोगिताले क्रिकेट बुझ्न र यसप्रति चासो बढाउन मद्दत पुगेको धारणा व्यक्त गर्नुभयो ।

क्रिकेट मैदान अन्यत्रकोभन्दा राम्रो बनेकाले यसलाई बिग्रन नदिइ संरक्षण गर्नुपर्ने खाँचो अर्का दर्शक सुजन बस्नेतले औँल्याउनुभयो । प्रतियोगिताले खेलप्रति किशोरको आकर्षण बढाएकाले यसपछि थुप्रै किशोर बल र ब्याट लिएर निस्कने उहाँको अनुमान छ ।

पोखरा– ३३ का बृहस्पतिमोहन आचार्य खेलको नयाँ ब्राण्ड क्रिकेटले सबैको मन तानेको र प्रतियोगितालाई निरन्तरता दिनुपर्ने बताउनुुहन्छ । प्रतियोगिताले क्रिकेटको माहोलका साथै खेलाडीको क्षमता विकास र जीवनयापनमा पनि सहयोग पुग्ने भएकाले खेल भइरहनुपर्ने उहाँको भनाइ छ ।

सरकारले व्यवस्थित क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ गर्न नहुने उहाँको भनाइ छ । पर्यटनको राजधानी पोखरामा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला निर्माण भए क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न वातावरण बन्ने भएकाले प्रदेश र स्थानीय सरकारले पूर्वाधार निर्माणमा ध्यान दिनुपर्नेमा बृहस्पतिमोहन आचार्यले बताउनुभयो ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एक दिवसीय मान्यता प्राप्त गरेकाले यसबीचमा खेलको स्तर बढाउन घरेलु प्रतियोगिताले फाइदा पुग्ने विश्वास दर्शकको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!