तेह्रथुम । सिँचाइ अभावमा जिल्लाको ठूलो क्षेत्रफल खेतीयोग्य जमिन बाँझो भएको छ । वर्षा हुने दरमा बर्सेनि उतारचडाव हुँदा किसानले हिउँदे बाली लगाउन पाएका छैनन् । वर्षामा समेत पर्याप्त पानी नपर्दा बाली सुकेर किसान मारमा परेका छन् ।

Advertisement

जिल्लाको ३० हजार ६ सय ८१ हेक्टर क्षेत्रफलको खेतीयोग्य जमिन बाँझै भएको छ । जिल्लाको औल क्षेत्रमा पनि पर्याप्त वर्षा भएन । पानी नपर्दा किसानले हिउँदे बाली लगाउन नपाएको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए ।

लामो खडेरीका कारण जिल्लामा गहुँ, आलु, तोरी, हरियो तरकारी, फापर, जौ, जै घाँस, मकै घाँस, मकैलगायतको कृषि बाली उत्पादन शृंखला नै प्रभावित भएको प्रदेश सांसद लक्ष्मण तिवारीले बताए । पीडितलाई अहिले प्रदेश र स्थानीय सरकारले धमाधम राहत वितरण गरिरहेका छन् ।

जिल्लामा अहिले आलु, तरकारी, गहुँ, तोरीलगायतका खाद्यान्न र तरकारी बाली पूर्वी तराईबाट आयात भइरहेको छ । जिल्लामा करिब ३ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गरेको छ । यो क्षेत्रफलमा ४ हजार ६ सय ८० टन गहुँ उत्पादन हुने गरेको तत्कालीन कृषि विकास कार्यालयको तथ्यांक छ । गत चार महिनादेखि वर्षा नहुँदा गाउँभरको खेतीयोग्य जमिन बाँझै रहेको छथर गाउँपालिका ५ ओख्रे बाँसपानीका किसान प्रकाश खडकाले बताए । वर्षा नहुँदा खेतबारी र जंगलका बोटबिरुवासमेत सुकेर आगो लाग्ने अवस्था भएको उनले बताए ।

आकासे पानीको भरमा खेती गरिँदै आएका जिल्लाका ओख्रे, सुदाप, पञ्चकन्या, फाक्चारामा, हमरजुङ, म्याङलुङ, साब्ला, पिप्ले, जलजले, ओयाक्जुङ, सिम्ले, थोक्लुङ, चुहानडाँडा, संक्रान्तिलगायत दुई दर्जनभन्दा बढी गाउँका हजारौं हेक्टर खेतीयोग्य जमिनमा अहिले बाँझै रहेका छन् । केही स्थानमा उम्रिएको आलु, हिउँदे मकै, गहुँ, जौलगायत बाली पनि सुकेर मर्न थालेको हमरजुङका किसान भूपाल कार्कीले बताए । लामो खडेरीका कारण खेतबारी र जंगलमा नयाँ घाँस नपलाउँदा पशुवस्तुको आहारमा समेत समस्या परेको किसान कार्कीको भनाइ छ । खडेरीले खेतबारीमा भएको बाँस, अम्लिसोलगायत हरिया घाँससमेत सुक्न थालेका छन् ।

कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लाको २ हजार ८ सय ७५ हेक्टर क्षेत्रफल जमिनमा आलु खेती गरिन्छ । जसमध्ये अत्यन्त थोरै जमिनमा मात्र सिँचाइ सुविधा छ । पानी नपरेपछि मुला, रायोको साग, काउली, बन्दा मटरकोसालगायतको मौसमी तथा बेमौसमी तरकारी खेती लगाउनै नसकिएको उनले गुनासो गरे । उनले मौसमी तथा बेमौसमी तरकारी खेतीबाट गत वर्ष १८ लाख रुपैयाँ हाराहारी आम्दानी गरेको बताए ।

यो वर्ष भने पानी अभावमा लगाएको खेती बारीमै सुक्न थालेको उनको गुनासो छ । जिल्लाको ३७ हजार २ सय ८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये ६ हजार ४ सय ६० हेक्टर क्षेत्रफल जमिनमा मात्र सिँचाइ सुविधा छ । बाँकी जमिनमा आकासे पानीको भर पर्नुपर्छ । कान्तिपुर दैनिकमा समाचार छ ।

जिल्लामा पर्याप्त खाद्यान्न, तरकारी, मसलालगायत बालीको व्यावसायिक खेती विस्तार गरी कृषि उत्पादन र उत्पादकत्व बढाउने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले अघिल्ला वर्षहरूमा विविध कार्यक्रमहरू सञ्चालन गरिरहेको थियो । सिँचाइ सुविधा नहुँदा उद्देश्यमा पुग्न सम्भव नभएको कृषि प्राविधिकहरू स्विकार्छन् । अहिले कार्यक्रम सञ्चालन गर्ने अधिकार स्थानीय तहले पाएका छन् ।

सुक्खा बस्तीका किसानलाई प्राथमिकतामा राखेर प्लास्टिक पोखरी, सिँचाइ कुलो र खानेपानी सुविधाका लागि प्रदेश सरकारले बजेट छुटयाएको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले बताए । यसअघि जिल्ला कृषि विकास कार्यालय र दलित सचेतना समाज नेपालले पनि सुक्खाग्रस्त किसानका बस्तीमा प्लास्टिक पोखरी वितरण गरेका थिए । तर, त्यो पर्याप्त नभएको किसानको गुनासो छ । जिल्लामा २७ प्रतिशत साना किसान, ४५ प्रतिशत मध्यम किसान, १५ प्रतिशत ठूला किसान र १३ प्रतिशत कृषि मजदुर रहेको कृषि विकास कार्यालयको तथ्यांक छ ।

पीडितलाई राहत

खडेरीका कारण क्षति व्यहोरेका किसानलाई प्रदेश र स्थानीय सरकारले राहत वितरण गरेका छन् । तेह्रथुमसहित पाँचथर र धनकुटाका किसानलाई सरकारले राहत वितरण गरेको हो । प्रदेश सरकारले क्षतिको अनुगमन गरी राहत उपलब्ध गराएको हो ।

प्रदेश र स्थानीय सरकारले संयुक्त रूपमा तीन जिल्लाका सुक्खाग्रस्त क्षेत्रका करिब ४ हजार किसानलाई राहत वितरण गरेको हो । तेह्रथुमको म्याङलुङ नगरपालिका, छथर, फेदाप र आठराई गाउँपालिका, पाँचथरको तुम्बेवा र कुम्मायक गाउँपालिका तथा धनकुटाको चौबिसे गाउँपालिकाका खडेरी पीडित किसानलाई राहत वितरण गरिएको छ । प्रदेश सरकारबाट ५ हजार रुपैयाँ र त्यो रकमलाई ७० प्रतिशत मानेर बाँकी ३० प्रतिशत अर्थात् २ हजार १ सय ५० रुपैयाँ स्थानीय तहले थप गरी प्रतिपरिवार ७ हजार १ सय ४२ रुपैयाँका दरले राहत वितरण गरेको हो ।

प्रदेश सरकारको सहयोगमा नगर क्षेत्रका २ सय २९ पीडित किसानलाई राहत वितरण गरिएको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताए । खडेरीले तेह्रथुमको म्याङलुङ नगरपालिकाका २ सय २९, छथर गाउँपालिकाका ८ सय ४५, आठराई गाउँपालिकाका ४ सय ८६ र फेदाप गाउँपालिकाका ६ सय ३५ परिवार प्रभावित भएका छन् । पाँचथरको तुम्बेवा गाउँपालिकाका ६ सय ७९, कुम्मायक गाउँपालिकाका ३ सय ११ र धनकुटाको चौबिसे गाउँपालिकाका ५ सय ३१ परिवार खडेरीबाट पीडित भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!