काठमाडौँ, ७ कात्तिक । शहरी विकास मन्त्रालयले भक्तपुरस्थित सानोठिमी क्याम्पस पछाडिको जग्गामा अन्तर्राष्ट्रियस्तरको सभा भवन बनाउने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले नेपाल नागरिक उड्डययन प्राधिकरणका नाममा रहेको १८९ रोपनी जग्गामा सो भवन बनाउन तयारी गरिएको जानकारी दिए ।

Advertisement

मन्त्रालयले ५८ रोपनी जग्गामा मात्र भवन बनाउन प्रस्ताव गरेकामा मन्त्रिपरिषद् बैठकले पूरै जग्गा ओगट्न निर्णय गरी सोमबार पत्राचार गरेको बताइएको छ ।

‘चालू आर्थिक वर्षमा भवनको डिजाइन सकेर टेण्डर गर्छौंँ, आगामी आवको शुरुदेखि नै निर्माण शुरु हुन्छ’, उनले भने, ‘प्रारम्भिक अनुमानअनुसार भवन बनाउन रु ५० करोड लाग्नेछ, निर्माणको वास्तविक लागत डिजाइनपछि सार्वजनिक हुनेछ ।’ पाँच हजार सिट क्षमताको सो भवनको एक हजार सिटमा मात्र टेबलको व्यवस्था गरिनेछ ।

यस्तै सातै प्रदेशका मुख्यमन्त्री र मन्त्रीको सम्पर्क कार्यालका लागि समेत भवन बनाउन अध्ययन शुरु गरिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए । सांसद आवास भवन बनाउन छुट्याइएको भैँसेपाटीको जग्गामा सो कार्यालय स्थापना गर्न अध्ययन शुरु गरिएको हो ।

काठमाडौँ उपत्यका वरपरका नगरपालिकालाई स्याटेलाइट सिटी, स्मार्ट सिटी, मेगा सिटी एवं मेट्रो सिटीका रुपमा विकास गर्न लागिएको बताइएको छ । संयुक्त राष्ट्र सङ्घ (युएन) पार्क विकास समितिसमेत गाभिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको नेतृत्वमा वाग्मतीको पानी सफा बनाउने अभियान पनि जारी राखिनेछ ।

मन्त्रालयअन्तर्गतका आयोजनाको काम समयमा नगर्ने निर्माण व्यवसायी एवं परामर्शदातालाई कालोसूचीमा राखी कानूनी कारवाहीको प्रक्रिया शुरु गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गत यसअघि ३५ डिभिजन कार्यालय रहेकामा सङ्घीय संरचनानुसार सात प्रदेशमा एकाइसहित १२ कार्यालय रहेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!