काठमाडौँ । नेपालमा नसर्ने रोगको जोखिम तत्वबारे अनुसन्धान थालिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोगको जोखिम बढ्दै गएकाले यसलाई प्रभाव पार्ने तत्वको अवस्था पत्ता लगाउन अनुसन्धान थालेको हो ।
परिषद्का अनुसन्धान अधिकृत सरोज भट्टराईले गत भदौदेखि अनुसन्धान शुरु गरिएको जानकारी दिँदै उच्च रक्तचाप, नूनको मात्रा, चिल्लो पदार्थलगायत कुन तत्वले नसर्ने रोगलाई बढी प्रभाव पारेको छ भनेर अनुसन्धान हुने जानकारी दिनुभयो ।
प्रारम्भिक चरणमा अहिले घरधुरी सर्वेक्षणका लागि २४ समूहमा टोली परिचालन गरिएको छ । सन् २०१३ को अनुसन्धानमा नसर्ने रोग बढ्दै गएको पाइएको थियो । तथ्याङ्कले उच्च रक्तचाप, मोटोपन, मादकपदार्थ, सुर्तीजन्य पदार्थको प्रयोग, नूनको मात्रा बढ्नुलगायतका कारणले हृदयाघात, मुटुरोग, क्यान्सरजस्ता नसर्ने रोग बढ्न सहयोग गरेको देखिएको थियो ।
फेरिँदो जीवनशैली, लापरवाहीपूर्ण खानपिन तथा शारीरिक अभ्यासको कमीले नसर्ने रोगलाई बढाउन मद्दत गर्ने क्यान्सर रोग विशेषज्ञ डा अनील कार्की बताउनुहुन्छ । अस्वस्थकर खानपिन पनि अर्काे महत्वपूर्ण कारक तत्व हो । यस्तै वंशाणुगत तथा विभिन्न विषादीले पनि नसर्ने रोगलाई बढाउन मद्दत गर्ने डा कार्की बताउनुहुन्छ ।
सन् २०१३ कोभन्दा अहिलेको अवस्था के छ भनेर यसपटक अध्ययन हुनेछ । यसबाट आएको प्रतिवेदन सरकारलाई बुझाइने परिषद्ले जनाएको छ । अनुसन्धानले रोगको जोखिम घटाउन नीति निर्माणका लागि सरकारलाई सहयोगी भूमिका खेल्ने विश्वास लिइएको छ ।
देशका सबै क्षेत्रलाई प्रतिनिधित्व गर्दै झण्डै ५० हजार घरघुरी प्रारम्भिक सर्वेक्षणबाट छानिएको छ हजार २४७ घर छनोट गरी अनुसन्धान हुने अर्का अनुसन्धान अधिकृत अच्यूतराज पाण्डेले बताउनुभयो । यसमा १५ देखि ६९ वर्षका व्यक्ति सहभागी हुँदैछन् ।
शुरुमा भौगोलिक अवस्थाको पहिचान हुने त्यसमा पनि शारीरिक अवस्था र अभ्यास गरे नगरेको अनुसन्धान हुनेछ भने तेस्रो चरणमा रगत र पिसाब सङ्कलन गरेर ल्याब परीक्षण हुनेछ । रगतमा चिनी र चिल्लो पदार्थको मात्रा र पिसाबबाट नूनलगायतको मात्रा पत्ता लगाइनेछ ।
गएको दुई महिनामा ३१ हजारको घरधुरीमा प्रारम्भिक सर्वेक्षणको काम सकिएको पाण्डे बताउनुहुन्छ । सार्वजनिक तथ्याङ्कअनुसार नेपालमा नसर्ने रोगका कारण करीब ६० प्रतिशत मानिसको मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले समेत नसर्ने रोगको जोखिम विश्वमै बढ्दै गएको भन्दै हरेक राष्ट्रलाई ध्यानाकर्षण गराउने र अनुसन्धानमा समेत सहयोग गर्दै आएको छ । नेपालमा पनि हरेक पाँच वर्षमा नसर्ने रोगको अनुसन्धान हुन्छ ।
गत भदौबाट शुरु भएको अध्ययनअनुसार सन् २०१८ भित्रमा घरधुरी सर्वेक्षण सकेर दोस्रो चरणको अनुसन्धान थाल्ने बताउँदै अनुसन्धान अधिकृत सरोज भट्टराईले अर्काे दशैँमा प्रतिवेदन सार्वजनिक हुने जानकारी दिनुभयो ।
परिषद्का उपमुख प्रशासकीय अधिकृत निर्भयकुमार शर्मा अनियमित खानपिन, चेतनाको कमी, शारीरिक अभ्यास नहुँदा नसर्ने रोग बढ्दै गएको दाबी गर्नुहुन्छ । “अल्छीपन छ, आधा घण्टा लाग्ने बाटो हिँड्न छाडेर आधा घण्टै कुरेर पनि गाडी चढ्ने बानी छ, यसले नसर्ने रोगलाई स्वभाविकै सहयोग गर्छ”, शर्मा भन्नुहुन्छ । वातावरण प्रदूषण र अव्यवस्थित शहरीकरण पनि अर्काे कारक तत्व हुनसक्ने भन्दै यसतर्फ पनि अनुसन्धान केन्द्रित गर्नुपर्ने अनुसन्धानकर्मीको भनाइ छ ।
बढ्दो छ नसर्ने रोगको जोखिम
नेपालमा सन् २००३ बाट नसर्ने रोगको अध्ययन शुरु भएको थियो । सन् २०१३ देखि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अगुवाइमा अनुगमन भएको थियो । सन् २०१३ को तथ्याङ्कमा नेपालमा २२ दशमलव ४ प्रतिशतमा मोटोपन पाइएको थियो । यस्तै २१ दशमलब ६ प्रतिशतमा बढी तौल र ४ प्रतिशतमा अत्यधिक मोटोपन रहेको थियो ।
औषधि नलिने ८३ दशमलब ३ प्रतिशतमा उच्च रक्तचाप, ९१ दशमलब ५ प्रतिशतमा चिनी रोग र कोलेस्टोरल २२ दशमलब ७ प्रतिशतमा थियो । अनुसन्धानमा ध्रुमपान गर्ने १८ दशमलब ५ प्रतिशत, फलफूल तरकारी तथा सागसब्जीको मात्रा कम खाने झण्डै ९९ प्रतिशत रहेको छ । यी विभिन्न कारणले नसर्ने रोगलाई बढावा दिन सहयोग गर्ने चिकित्सक बताउँछन् ।