काठमाडौँ, १९ असोज । दसैँ नजिकिँदै गर्दा खाद्यान्न अभाव भएपछि हुम्लालगायत कर्णालीका बासिन्दा मर्कामा परेका छन् । उनीहरूले पाँच किलोग्राम चामल खरिद गर्न प्रमुख जिल्ला अधिकारी (सिडिओ) बाट सिफारिस लिनु परिरहेको छ ।
नेपाल खाद्य संस्थान, हुम्लाले दसैं नजिकिएपछि बुधबारदेखि चामल बिक्री गर्न थालेको हो । मागअनुसार चामल आपूर्ति नभएपछि प्रतिपरिवार पाँच किलोग्राम मात्रै बिक्री गरिरहेको खाद्य संस्थान हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए ।
सिडिओको नेतृत्वमा जिल्ला खाद्य समिति रहेको छ । समितिका अध्यक्ष सिडिओ माधवप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको बैठकले हुम्ला सदरमुकामस्थित संस्थानको सिमकोट डिपोबाट चामल बिक्री गर्ने निर्णय गरेको हो । सिमकोट बजारका बासिन्दा र कर्मचारीलाई पाँच किलोग्राम चामल बिक्री गर्ने तय गरेको छ ।, आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।