काठमाडौं, १५ असोज । सरकारी कर्मचारीलाई दशैंमा भत्ता वितरण गर्न करिब साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ। दशैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन्। महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिने जानकारी दिए।

Advertisement

उनले भने, ‘एक महिनाको तलब बराबरको चाडपर्व खर्च अर्थ मन्त्रालयले निकासा गर्नेछ।’ अर्थ मन्त्रालयका अनुसार सार्वजनिक पद धारण गरेका निजामती, सरकारी, शिक्षक र सुरक्षा निकायका कर्मचारीका लागि चाडपर्व खर्च अन्तर्गत ६ अर्ब ४७ करोड रुपैयाँ निकासा गर्न लागिएको छ।

दशैंभत्ता र नियमित तलब गरी सरकारले कर्मचारीलाई दसैंमा करिब १३ अर्ब रुपैयाँ खर्च गर्नेछ। सरकारले आफ्ना कर्मचारीका लागि वार्षिक ८४ अर्ब १० करोड ५३ लाख रुपैयाँ खर्च छुट्टयाएको छ। यसरी सरकारले सरकारी कर्मचारीका लागि पारि श्रमिक तथा भत्तासहित कुल एक खर्ब १७ अर्ब ३३ करोड चार लाख रुपैयाँ बजेटमा विनियोजन गरिएको छ।

हाल विभिन्न क्षेत्र, तह र अवकाश प्राप्त गरी करिब पाँच लाख ५६ हजारलाई दसैंपेस्की जाने गरेको छ। तीमध्ये निजामती कर्मचारी ८६ हजार, सैनिक करिब ९० हजार, सशस्त्र प्रहरी ३५ हजार र नेपाल प्रहरी करिब ६५ हजारको संख्यामा छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा यो खबर छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!