रौतहट, ९ असोज । पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ पुर्जी जारी गरेको छ । लालबकैया नदीस्थित टिकुलिया घाटमा समयमा पुल निर्माण नसकिएका कारण डुंगा दुर्घटना भएको भन्दै जिप्रकाले प्रक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले जानकारी दिनुभयो ।
गौर नगरपालिका–४ स्थित टिकुलीया घाटमा गत भदौ ८ गतेको डुंगा दुर्घटना हुँदा५ जनाको मृत्यु भएको थियो।पीडितहरुको किटानी जाहेरी पछि निर्माणको काम समयमा नसकेको भन्दै निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ पुर्जी जारी गरेको हो।
जिल्ला प्रहरीले रौनियारलाई पटक पटक सम्पर्क गरि हाजिर हुन आउन अनुरोध गर्दै आएको थियो। तर बेवास्ता गरे पछि जिल्ला अदालतबाट आदेश लिएर अध्यक्ष रौनियार माथि पक्राउ पुर्जी जारी गरेको हो। एसपी ढकालले टिकुलिया घाटमा भएको डुंगा दुर्घटनाका बिषयमा केही कुरा बुझ्न अनुरोध गर्दा अटेर गरेकोले पक्राउ पुर्जी जारी गरिएको बताउनुभयो ।
लामो समय देखि ठेकेदार, कम्पनीका प्रतिनिधि र प्राविधिक कोही पनि साइडमा छैनन्। उपकरणहरु सबै खिया लागेर सड्न थालेका छन्। पुलको पिलर बनाएर अलपत्र छाडिएको छ। लालबकैया पारीका बन्जाराहा, औरैया, मठियालगायतका स्थानीयलाई सदरमुकाम गौर आउन कठिनाई भएको भन्दै २०७१ साल असार २९ गतेबाट निर्माणको काम सुरु गर्ने ठेकेदारले सम्झौता गरि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुलको शिल्यान्यास गर्नुभएको थियो ।
निर्माणको ठेक्का पर्सा बिरगञ्जस्थित पप्पु कन्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार १ सय पचास रुपैयामा सकार गरेको थियो। ठेक्का नम्बर १३९–०७१ ०७२ लालबकैया नदि टिकुलीया घाटको पुल निर्माण सम्पन्न गर्ने अन्तिम समय २०७४ असार २५ गते तोकिएको थियो। पछिल्लो समय ठेक्का सकारेर काम नगर्ने पप्पु कन्ट्रक्सनको नाम चर्चामा छ। उनको ठेक्काको सम्झौता ०७४ असार २५ गते सकिएको छ।