काठमाडौँ, १ असोज । हिन्दुहरुले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पुजा आजा गरेर बिश्वकर्मा पूजा मनाउदै छन । यन्त्र र औजारको पूजा गर्दा शाकाहारी र शात्विक रूपमा रहेर विश्वकर्मालाई संस्मरण गरिन्छ ।
औजार चलाउने कलकारखाना तथा ज्यासलका कालिगढ, मजदुर र मालिकबीच हार्दिकता व्यक्त हुने दिनका रूपमा पनि यो दिनलाई लिइन्छ ।
ओम् बोलबम काँवरिया सङ्घका अध्यक्ष सुनिल ठाकुरका अनुसार कल कारखाना र वर्कशपमा कार्यरत बोलबम आवद्ध सबैले विश्वकर्माको पूजा भव्यताका साथ मनाउँदैछन् ।
विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरेर निराहार व्रत बसी पूजाआजा सकिएपछि मात्र प्रसाद ग्रहण गर्ने र रातभर जसो अर्चना गरिन्छ । पूजा सकेर भोलिपल्ट मात्र विश्वकर्मा यात्रा गर्ने गराउने चलन छ ।
सैलुन, फर्निचर कारखाना, औषधालय, आरन लगायतका उद्योग व्यवसाय विश्वकर्मा पूजाका दिन बन्द हुन्छ । काभ्रेपलाञ्चोक जिल्लाको खोपासीस्थित कमीडाँडामा यो दिन मेला पनि लाग्छ ।