काठमाडौँ, ३१ भदौ । दसैंमा ५ अर्ब बढीको खसीबोका आयात हुने भएको छ । स्वदेशमा उत्पादित खसीबोकाले माग धान्न नसकेपछि सो परिमाणमा खसीबोका आयत गरिन लागिएको हो । खसीबोका व्यवसायी दीपक थापाले ५ अर्ब बढीको खसी आयात गरिने बताए ।
गत वर्षको दसैंमा ४ अर्ब मूल्यबराबरको खसीबोका आयात भएको थियो । वर्षपिच्छे बजारमा माग बढ्दै जाने हुँदा आयात पनि बढ्दै जाने गरेको उनको भनाइ छ । दसैंका लागि खसीबोका १ असोजबाट ल्याउने तयारी रहेको थापाले बताए ।
अन्य समयको तुलनामा दसैं र तिहारमा बजारमा मासुको माग धेरै हुने हुँदा स्वदेशी उत्पादनले मात्र नेपाली बजारमा माग पूरा गर्न नसक्दा नेपाली व्यवसायीले भारत र चीनबाट खसीबोका आयात गर्दै आएका छन् ।
थापाको भनाइ अनुसार विगतको तुलनामा स्वदेशी उत्पादनमा पनि १० प्रतिशतले उत्पादन बढेको छ । नेपालमा भारतबाट अधिकांश सामान आउने गर्छ । नेपालका मुख्य–मुख्य ठाउँमा भारतीय व्यापारीको नै वर्चस्व रहने गरेको छ ।
थापाको अनुसार विगतका वर्षको तुलनामा आगामीदसैंमा खसीबोकाको मूल्य बढ्ने देखिन्छ ।
गत वर्र्ष एउटा खसीको भन्सार मूल्य व्यापारीले करिब ६ सय रुपैयाँ तिरेर ल्याउने गरेका थिए भने यो वर्ष एउटा खसीको भन्सार मूल्य १ हजार तिर्नुपरेको छ । त्यसका साथै अन्य बजारमा महँगी बढ्दै गएकाले यो वर्ष दसैंमा विगतको भन्दा खसीबोकाको मूल्य बढ्ने देखिएको व्यवसायी थापाको भनाइ छ ।
गत वर्ष प्रतिकेजी खसीको मूल्य ५ सय २० रुपैयाँ थियो भने यो वर्षमा ६–७ सय रुपैयाँसम्म पुग्न सक्ने उनको भनाइ छ । आजको राजधानी दैनिकमा यो खबर छ ।