काठमाडौँ, २२ भदौ । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणका क्रममा आज ल्हासा प्रस्थान गर्नुभयो ।

Advertisement

भ्रमणका क्रममा उहाँ आज ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’को उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । त्यस्तै आजै सभामुख महराले तिब्बत सरकारका प्रमुखसँग आपसी हित र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्नुहुने सभामुखको सचिवालयले जनाएको छ ।

ल्हासामा रहँदा सभामुख महराले त्यहाँस्थित नेपाली कन्सुलर कार्यालयको शिलान्यास गर्नुहुने छ । त्यस्तै उहाँले ल्हासाबाटै रसुवागढी र तातोपानीस्थित मितेरी पुलको उद्घाटन गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा सभामुख महराले ‘ट्रान्स हिमालय बेल्ट एण्ड रोड इन्टरनेशनल कोअपरेशन फोरम’को बैठकलाई सम्बोधन गर्नुहुने उहाँको सचिवालयले जनाएको छ ।

सभामुख महराको भ्रमण टोलीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शान्तिमाया तामाङ पाख्रिन, नेपाली काँग्रेसका रङमति शाही, सङ्घीय समाजवादी फोरमका उमाशङ्कर अरबरिया, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका एकवल मियाँ र राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल सहभागी हुनुहुन्छ ।

त्यस्तै सङ्घीय संसद् सचिवालयका सचिव भरतराज गौतम र सभामुखको सचिवालयका प्रतिनिधिसमेत भ्रमणमा सहभागी हुनुहुन्छ । उहाँ यही भदौ २६ गते स्वेदश फर्कने कार्यक्रम छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!