बाँके, २४ साउन । अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ ।

Advertisement

खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला आयोग, बनारस प्रहरी तथा रेस्क्यु फाउन्डेशन नामक संस्थाको सहयोगमा उद्धार गरिएको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाले जानकारी दिनुभयो ।

योसँगै भारतीय महिला आयोगको सक्रियतामा दिल्लीबाट हालसम्म ७३ नेपाली महिलालाई नेपाल फर्काइएको छ । उनीहरूलाई भारतीय बाटो हुँदै अवैध रूपमा खाडी मुलक लैजान लागेको गोप्य सूचनाका आधारमा उद्धार गर्न सफल भएको संयोजक कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार खाडी मुलुक जान लागेका नेपाली महिलालाई नयाँ दिल्लीको मैदानगढी क्षेत्रका होटलमा छापा मारेर उद्धार गरिएको थियो । मध्यपश्चिम क्षेत्रमा घर भएका महिलालाई नेपालगञ्जमा राखिएको छ भने अन्य जिल्लामा घर भएकालाई नजिकको माइती नेपालका सेल्टरमा राखिएको छ ।

उद्धार गरिएकामा दाङ, बाँके, दैलेख, पाल्पा, नवलपरासी, रुपन्देही, मोरङ, झापालगायत जिल्लाका महिला छन् । “नेपालगन्ज नजिकका महिलालाई यही राखेर परिवारसँग पुनर्मिलन गराइने तयारी छ,” संयोजक कोइरालाले भन्नुभयो, “कतिपय महिलाका परिवार नेपालगन्ज आइसक्नु भएको छ, कतिपय बाटोमै आउँदै गरेको जानकारी प्राप्त भएको छ ।”

भारतबाट ल्याइएका महिलाले आफूहरू स्वच्छिकरूपमा भारत हुँदै खाडी मुलुक जान लागेको माइती नेपालसमक्ष बयान दिएका छन् । नेपालको बाटो भएर खाडी मुलुक जान सरकारले प्रतिबन्ध लगाएपछि आफूहरू भारत भएर त्यसतर्फ जान लागेको प्रतिक्रिया उनीहरूले दिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!