संगालोखबर संवाददाता

काठमाडौ। व्यवस्थापिका संसद्को आजको दोस्रो बैठकले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्ने सम्बन्धमा सत्य तथ्य बुझी प्रतिवेदन पेस गर्न पाँच सदस्यीय संसदीय छानविन विशेष समिति गठन गरेको छ ।

Advertisement

प्रमुख तीन दलका शीर्ष नेताबीच आज बिहान भएको सहमतिपछि संसद् सुचारु भएसँगै सो प्रस्ताव पेस भएको हो ।

समितिमा नेपाली काँग्रेसका अर्जुनप्रसाद जोशी, नेकपा (एमाले) का राजेन्द्रप्रसाद पाण्डे, नेकपा (माओवादी केन्द्र) का रामनारायण विडारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भाष्कर भद्रा र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का डा सुवोधकुमार पोखरेल हुनुहुन्छ ।

सो समितिको गठन गरियोस् भनी माओवादी केन्द्रमा मुख्य सचेतक टेकहादुर बस्नेतले प्रस्ताव प्रस्तुत गर्नुभयो भने काँग्रेस र एमालेका प्रमुख सचेतकहरु चीनकाजी श्रेष्ठ र भानुभक्त ढकालले समर्थन गर्नुभयो । सो प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो ।

प्रमुख प्रतिपक्ष एमालेले गत वैशाख ३१ मा विभिन्न ३४ जिल्लामा भएको स्थानीय निर्वाचनबारे छानविन हुनुपर्ने माग गर्दै आएको थियो ।
संसद्को नियमावली, २०७३ को नियम १८३ बमोजिम गठित समितिको कार्यावधि तीन महिनाको हुनेछ ।

समितिले सभामुखको निर्देशनमा रही आफ्नो कार्यविधि आफैले व्यवस्थित गर्न सक्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement