सल्यान, १९ साउन। जिल्लाका कतिपय स्थानमा बँदेलको बथानले वर्षेवाली नष्ट पारेपछि किसान चिन्तित भएका छन् ।

Advertisement

वनगाड कुपिण्डे– ९ गिठाचौरका १४५ घरपरिवारले लगाएको धान, मकै, कोदोलगायतका बाली बँदेलले सखाप पारेकाले उनीहरूमा चिन्ता बढेको हो ।

गाउँनजिकै रहेको भगवती सामुदायिक वनबाट राति बँदेलको बथान आएर लगाएको बालीनाली सखाप पार्न थालेको छ ।

भर्खर लगाएको धान तथा मकै बालीमा बँदेलले गरेको उपद्रो देखेर मन थाम्न नसकिएको स्थानीय कृषक डिलबहादुर बोहराले बताए ।

‘पहिले–पहिले बँदेल गाउँ बाहिरका टाढाका बारीमा मात्र आउने गर्थे, अहिले त गाउँमै आएर बालीनाली नष्ट पार्न थाले’, चिन्तित हुँदै उनले भने, ‘यस्तै हो भने अब गाउँ छाडेर जानुको विकल्प रहेन ।’

वर्षभरि दुःख गरेको बालीनाली आँखै अगाडि बँदेलले तहसनहस पार्न थालेपछि परिवारको गर्जो टार्नसमेत समस्या हुन थालेको बोहराको भनाइ थियो ।

विगत पाँच वर्षदेखि गाउँमा बँदेल आतंक बढ्न थालेको वनगाड कुपिण्डे–९ गिठाचौरका यज्ञबहादुर थापाले जानकारी दिए ।

उनले भने, ‘बँदेलले दुःख दिन थालेपछि गाउँभन्दा टाढाका बारी तथा खेत बाँझै छन्, पहिले बँदेल गाउँमा पस्दैनथे विगत पाँच वर्षदेखि बँदेलेको बथान राति गाउँमै छिर्छ, रातभरि उपद्रो गरेर बिहान जंगल जान्छन्, जति गरे पनि नियन्त्रण गर्न सकिएन । त्यसै कारण गाउँ जतिबेला पनि विस्थापित हुनुपर्ने बाध्यता भएको छ ।’

अर्का कृषक कृषक चित्रभान बोहरा रातभरि जाग्राम बस्दा समेत बँदेललाई रोक्न नसकेको बताउँछन् ।

बँदेलले क्षति पुर्याउन थालेपछि ४० प्रतिशत जमिन बाँझै रहेको कृषकहरु बताउँछन् ।

गिठाचौर बस्ती नजिकै रहेको भगवती सामुदायिक वनबाट आउने बँदेलका बथानले एकै रातमा थुप्रै बालीमा क्षति पुर्याउने भएकाले तिनको नियन्त्रणका लागि सम्बन्धित निकायमा जानकारी गराए पनि सुनुवाइ नभएको कृषकको गुनासोे थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!