काठमाडौँ, १४ साउन । इण्डोनेसियामा आयोजना हुने १८ औँ एसियाली खेलकूद एसियाड को थप तयारीका लागि नेपाल गल्फ टोली आज थाइल्याण्ड प्रस्थान गरेको छ ।

Advertisement

आगामी भदौ २ गतेदेखि हुने उक्त प्रतियोगिताको तयारीका लागि गल्फ संघका अध्यक्ष टासी घलेसहित चार खेलाडी वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन् । नेपाली गल्फ टोलीले एसियाडमा पुरुषतर्फ टिम इभेन्टस र एकलमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल ओलम्पिक कमिटी एनओसीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले नेपाली गल्फले पछिल्लो समय निकै मेहनत गरको भन्दै सफलताको शुभकामना दिए ।

थाइल्याण्ड प्रस्थान गर्ने खेलाडीमा टंकबहादुर कार्की, शुक्रबहादुर राई, पृथ्वी मल्ल र अजित विक छन् ।

नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने

प्रथम विश्वविद्यालय उसु च्याम्पियनसिपमा नेपालकोतर्फबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

मकाउ पोलिटेक्निक इन्ष्टिच्यूट मल्टी स्पोर्ट्स पेभिलियनमा यही साउन १७ देखि २० गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालकोतर्फबाट एक पुरुष र दुई महिला प्रतिस्पर्धा गर्नेछन् । तीनै खेलाडीले थाउलो स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक प्रवेश गर्न लागेका अशोक बुढा मगरले पुरुष नान् छ्वान र नान् गुनमा भाग लिने छन् ।

त्यस्तै महिलामा १२ औँ दक्षिण एसियाली खेलकूद सागकी रजतधारी सविता राई र ओसिन राईले आ–आफ्नो कौशल प्रदर्शन गर्नेछन् । ओसिन र सविता आआफ्नो स्पर्धामा लगातार पाँच पटकका राष्ट्रिय च्याम्पियन हुन् । प्रतियोगितामा सहभागी उक्त तीन खेलाडीसहित सात सदस्यीय नेपाली टोली मंगलबार मकाउ प्रस्थान गर्नेछन् ।

विश्वविद्यालय खेलकूद संघ नेपालका अध्यक्ष प्रदीप जोशीको नेतृत्वमा जान लागेको टोलीको प्रशिक्षकमा राजीव महर्जन तथा अफिसियलमा राष्ट्रिय खेलकूद परिषद्अन्तर्गत आर्थिक प्रशासन शाखाका लेखापाल कुमार बस्नेत र विश्वविद्यालय खेलकूद संघका सदस्य महेन्द्र तामाङ छन् ।

अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकूद महासंघ र मकाउ विश्वविद्यालय खेलकूद संघको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा ३५ राष्ट्रको सहभागिता रहने विश्वविद्यालय खेलकूद संघका महासचिव पूर्णसिं बोहराले जानकारी दिए ।

टोलीलाई राष्ट्रिय खेलकूद परिषद्अन्तर्गत प्रशासन विभागका प्रमुख वासुदेव आचार्य र कानून शाखाका प्रमुख नारायणराज अर्यालले एक कार्यक्रमबीच आज सफलताको शुभकामना दिँदै बिदाइ गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!