काठमाडौँ, १ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई धर्मराज–सावित्री थापा लोकसाहित्य संस्कृति पुरस्कार–२०७४ बाट सम्मानित गर्नुभएको छ ।

Advertisement

सो पुरस्कारको राशि रु ५० हजार तथा सम्मानपत्र रहेको छ । कला, संस्कृति तथा इतिहासमा श्रीवृद्धि गर्न देशका लागि अतुलनीय सेवा गरेको भन्दै जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले डा जोशीलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

विसं १९७७ मा बखुँबहाल ललितपुरमा जन्मनुभएका शताब्दी पुरुष जोशीले नेपाल भाषामा प्रकाशित शारदा नामक पत्रिकाबाट साहित्यिक यात्रा शुरु गर्नुभएको हो ।

विसं २०२८ मा जुम्लाको सिञ्जा खोलामा छ महिना नेपाली भाषाको व्युत्पत्तिको अनुसन्धानात्मक खोज गरी प्रतिवेदन तयार गर्नुभएपछि जोशी चर्चाको शिखरमा पुगेको थियो । शताब्दी पुरुष जोशीको जय प्रकाश र श्वेतचैतत्यकृत महाकाव्यसहित थुप्रै नेपाल भाषा तथा नेपाली भाषामा पुस्तक प्रकाशित छन् ।

उपराष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा बोल्दै उपराष्ट्रपति नन्दबहादुर पुनले लोकसाहित्य, लोकसंस्कृतिलगायत विभिन्न विधामा विशिष्ट योगदान दिने शताब्दी पुरुष सत्यमोहन जोशीको जोस, जाँगर तथा देशका लागि गर्दै आएको सक्रियता वर्णनयोग्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले वाङ्मय शताब्दी पुरुषलाई सम्मान गर्न पाउँदा आफूलाई गौरवको अनुभूति भएको बताउँदै जोशीको सुस्वास्थ्य तथा सुखको कामना गर्नुभयो । उपराष्ट्रपतिले जनकविकेशरी धर्मराज थापाको नेपाली संस्कृतिको वर्णन गरिएका सुमधुर गीतहरु आफनो मानसपटलमा सधैँ ताजा रहेको बताउँदै भाषा, संस्कार तथा संस्कृतिबाट मानिस अलग हुन नसक्ने बताउनुभयो ।

सम्मानित व्यक्तित्व वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले हिमाल नै हिमालले ढाकिएको नेपालमा हिमवत् संस्कृतिको प्रभाव रहेको बताउँदै नेपालको लोकसंस्कृतिको विकास गर्न सकेमा मात्र अग्रगामी फड्को मार्न सकिने बताउनुभयो ।

समालोचक राजेन्द्र सुवेदीले शताब्दी पुरुष सत्यमोहन जोशीको कला, संस्कृतिका साथै लोकसाहित्यको विधामा महत्वपूर्ण योगदान गरेकाले प्रतिष्ठानले सम्मान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी नेपाली संस्कृतिको क्षेत्रका चम्किला नक्षत्र हुनुहुन्छ भन्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!