काठमाडौँ, २९ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट शक्तिलाई कमजोर पार्न स्वदेशी तथा विदेशी शक्ति लागिरहेको बताएका छन् ।

Advertisement

शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले शुक्रबार आयोजना गरेको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट शक्तिलाई के गरी कमजोर पार्ने भनेर ठूलो कसरत भइरहेको छ भताए ।

सोभियत संघ र पूर्वी युरोपका समाजवादी देशहरुको विघटनपछि पश्चिमा पूँजीवादी शक्तिहरुले कम्युनिष्ट आन्दोलनकै अवसान भयो भन्ने गरेको बताउँदै उनले भने, ‘इतिहासकै अन्त्य भयो भनेर प्रचार गर्दै गर्दा सबैभन्दा अग्लो टाकुराको देशबाट जनताको मतद्वारा दुई तिहाइको स्थितिमा आउनु उनीहरुका लागि आश्चर्यजनक भएको छ ।’

विश्वका धेरै कम्युनिस्ट नेताहरुसँग कुरा गर्दा नेपालमा कम्युनिष्टहरुको गतिविधि संसारभरिका लागि प्रेरणादायी रहेको बताए । यसले आफूहरुलाई जिम्मेवारी, गौरव बढेको र चुनौती थपिएको अध्यक्ष दाहालको भनाइ थियो ।

अर्को प्रसंगमा उनले पार्टी एकीकरणपछिको विधान नियमावली टुङ्गिएको र साउन महिनाभरिमा सबै एकताका प्रक्रिया टुङ्ग्याउने बताए । भदौ र असोज महिनामा देशभर प्रशिक्षण गर्ने, सभा सम्मेलन गर्ने र सरकारका सकारात्मक कामका बारेमा जनतासम्म पुर्‍याउने अध्यक्ष दाहालले बताए । उनले खम्बसिंह कुँवरजस्ता योद्धाकाले पार्टी यो अवस्थामा आइपुगेकोले कहिल्यै नचुक्ने बताएका छन् ।

सो अवसरमा ‘शारदा स्मृति पुरस्कार’बाट कम्युनिष्ट नेता खम्बसिंह कुँवरलाई पुरस्कृत एवं सम्मानित गरिएको थियो । उनलाई बीस हजार नगदसहित सम्मान गरिएको थियो ।

त्यसैगरी ‘डिल्लीराम धनसरा प्रतिभा पुरस्कार’बाट प्रगतिशील लेखक संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठलाई पाँच हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा गायक स्व खुसिराम पाख्रिनकी श्रीमती सुकमायाँ तामाङलाई १५ हजार नगदसहित सम्मान गरिएको थियो । उनीहरुलाई अध्यक्ष दाहालले सम्मान गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!