काठमाडौँ, २४ असार । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालयमा सीमित स्रोत साधन र बाध्यताका कारण पर्याप्त बजेट नभएको गुनासो गरेका छन ।

Advertisement

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उनले राष्ट्रिय बजेटको ०।३१८ प्रतिशत अर्थात् रु चार अर्ब मात्र बजेट विनियोजन भएको बताए ।

खेल क्षेत्र दुरवस्थामा रहेकाले भौतिक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताउँदै उनले आगामी तीन वर्षभित्र खेलकूद परिषद् पुनःनिर्माण पूरा हुने विश्वास दिलाए । देशभरका ७५३ वटै स्थानीयस्तरमा रंगशाला निर्माण गर्न मन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गरिएको छ भन्दै उनले स्थानीय तहदेखि नै खेल क्षेत्रको विकास गरिने बताए ।

खेलाडीको कोठा सम्मानले भरिए पनि उनीहरुको उचित संरक्षण गर्न नसकिएको भन्दै सरकारले खेलाडीको स्वास्थ्य बीमा, जीवन बीमा एवं भत्ताको व्यवस्था गर्ने बताए ।

स्थानीय, प्रदेश एवं केन्द्रीयस्तरमा नियमितरुपमा प्रतियोगिता सञ्चालनका लागि प्रोत्साहन गरिएको छ भन्दै उनले उच्चस्तरको प्रविधियुक्त तालीम तथा पूर्वाधारका लागि पर्याप्त बजेट नभएको बताउनुभयो । भौगोलिक क्षेत्रमा खेलको विकास गरेर पर्यटन प्रवद्र्धन गर्न सकिने उनले बताए ।

आगामी मंसीरमा आठौंँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा आयोजना गर्न मन्त्रालय केन्द्रित भएको जानकारी दिँदै उनले त्यस क्षेत्रमा पूर्वाधार निर्माणका लागि केही बढी खर्च भएको स्पष्ट पारे ।

काठमाडौँ र पोखरामा हुने तेह्रौँ दक्षिण एशियाली खेलकूदका लागि आफूले सीमित साधन स्रोतको परिचालन गरिरहेको मन्त्री विश्वकर्माको भनाइ थियो । मितव्ययी तवरले अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा योग्य खेलाडी र प्रशिक्षक पठाइने प्रतिबद्धता व्यक्त गर्दै उनले घुम्न जाने परम्परालाई तोडिने बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!