काठमाडौँ, २२ असार । विश्वमा प्रत्येक ५९ जना बालबालिकामध्ये एकजनामा अटिजमको समस्या देखिए पनि नेपालमा कति बालबालिका यसबाट प्रभावित छन् भने यकिन तथ्यांक छैन ।
वर्षेनी १५ प्रतिशतका दरले अटिजमका रोगी थपिँदै गएकामा यसको उपचारका लागि अहिलेसम्म राज्यले कुनै ध्यान नदिएको सम्बन्धित सरोकारवालाले बताएका छन् ।
अटिजम हुनुको कारण वंशाणुगतलाई आधार माने पनि अझसम्म यसको मुख्य कारण पत्ता लाग्न नसकेको अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा सुनीता मलेकु अमात्यले बताए ।
यस रोगको लक्षणमा बच्चाले आँखामा आँखा नजुधाउने, एक्लै बस्न रुचाउने, बोलेर आफ्ना कुरा व्यक्त गर्न नसक्ने, शब्द वा वाक्य दोहो¥याउने र फरक ढंगबाट स्नायुजन्य प्रतिक्रियाहरु देखाउने गर्छन् ।
नेपालमा कति बालबालिका यस रोगबाट पीडित छन् भन्नेतर्फ कुनै अध्ययन नभएको तर केन्द्रले सञ्चालन गरेका विभिन्न तालीम र थेरापीमा आएका बालबालिकाको संख्याका आधारमा करीब तीन लाख रहेको केन्द्रको अनुमान छ ।
विश्व स्वास्थ्य संगठनले विश्वका एक प्रतिशत जनसंख्यामा अटिजमको समस्या रहेको औँल्याएको छ । दक्षिण कोरियामा हालै गरिएको एक अध्ययनमा त्यहाँका २।६ प्रतिशत व्यक्तिमा अटिजम रहेको पाइएको छ ।
‘अटिजम भएका बिरामीका लागि सबैभन्दा प्रभावकारी उपचार भनेको उनीहरुमा रहेको कमजोरी पक्षलाई अर्थात् सञ्चार र सामाजिक बुझाईलाई ध्यानमा राखी व्यावहारिक सिद्धान्तका आधारमा शिक्षा प्रदान गर्नु नै हो’ डा अमात्यले भने ।
अटिजमका लागि औषधि उपचार नभए पनि उनीहरुमा हुने विशेष लक्षणलाई उपचार गर्न विभिन्न थेरापी र औषधोपचार छ प्रयोग गर्ने भने सकिने उनको भनाइ छ ।
अटिजमका बारेमा अहिलेसम्म कुनै अध्ययन, उपचार केन्द्रको व्यवस्था नभए पनि पहिलोपटक अपाङ्गता अधिकार ऐन, २०७४ मा अपाङ्गता भएका व्यक्तिलाई १० प्रकारमा वर्गीकरण गरेकामा नवौँ स्थानमा अटिजमलाई समावेश गरेको छ ।