ईश्वर थापा/संगालोखबर

धनकुटा, १९ असार । राष्ट्रपति खेलकुद महिला सहभागिता कार्यक्रम मंगलबारदेखि धनकुटामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदले खेलकुदमा महिला सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रमको जिल्ला समन्वय समिति प्रमुख टंकबहादुर चुवानले उद्घाटन गरेका छन् ।

Advertisement

कार्यक्रम उद्घाटन गर्दै जिसस प्रमुख चुवानले नेपालले छोटै समयमा महिला उत्थानको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै क्षमता विकासमा ध्यान दिनुपर्ने बताए ।

हरेक क्षेत्रमा समानता हुन जरुर रहेको भन्दै उनले सामाजिक न्यायसहितको विकासकालागि पनि राज्यका सबै तहमा महिलाको समान सहभागिता हुनुपर्नेमा जोड दिए ।

‘महिला हिंसाविरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागिता उत्तम विकल्प’ भन्ने नारासहित तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा खेल र जीवन, महिला हिंसा के हो ? खेलकुदमा लाग्दा कसरी हिंसा कम हुन्छ, हिंसाबाट जोगिन आत्मसुरक्षाका उपायबारे अभ्यास लगायतका विषयमा छलफल गरिने जिल्ला खेलकुद विकास समिति अध्यक्ष भोगेन्द्र थापाले जानकारी दिए ।

कार्यक्रममा पूर्वाञ्चल खेलकुद विकास समितिका उपाध्यक्ष गोपाल सेडाई, धनकुटा नगरपालिकाका कार्यबाहक प्रमुख जंगबहादुर राई, जिल्ला युवा समिति अध्यक्ष अर्जुन छाराहाङ, पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका सभापति नरेन्द्र पोख्रेल लगायतले शुभकामना मन्तव्य राखे ।

असार १५ देखि २५ गतेसम्म ३६ जिल्लामा पहिलो चरणको कार्यक्रम सञ्चालन भइरहेको राष्ट्रिय खेलकुद परिषदकी अधिकृत अनन्त खनालले जानकारी दिईन् । साउनदेखि वर्षभरि कार्यक्रमले निरन्तरता पाउने उनले बताइन् ।

यो कार्यक्रम प्रत्येक जिल्लामा तीन दिन चल्नेछ । जसमा ३० मिनेट सैद्धान्तिक र ९० मिनेट आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!