काठमाडौँ, १३ असार । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेको छ ।
तरुण दलले सरकारले पटकपटक पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि गरेको भन्दै आज काठमाडौँका विभिन्न ठाँउबाट जुलुस निकालेर विरोध प्रदर्शन ग¥यो ।
विरोध प्रदर्शनपछि शान्तिवाटिकामा आयोजित कोणसभालाई सम्बोधन गर्दै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले वर्तमान सरकार जनताको भावनाअनुसार चल्न नसकेको आरोप लगाउनुभयो । “सरकारले दुई तिहाईको दम्भ देखाएर निरकुंश बन्न खोजेको छ, यसको विरुद्धमा तरुण दलको आन्दोलन हो,”–उहाँले भन्नुभयो ।
यसैबीच नेपाल विद्यार्थी संघले शनिबार प्रकाशित माध्यामिक शिक्षा परिक्षा (एसईई) नतिजामा भएको त्रुटिको छानबिन गर्न माग गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा गएको टोलीले शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै परीक्षा बोर्डका पदाधिकारी र कार्यालयका कर्मचारीलाई तत्काल निलम्बन गरेर कारबाहीको गर्न माग गरेको नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै नेविसंघले कक्षा १ देखि उच्च शिक्षासम्मका सम्पूर्ण पाठ्यक्रम निर्धारण गर्दा नीति, योजना र कार्यक्रम तर्जुमामा सरोकारवाला पक्षसँग व्यापक छलफल र पूर्व तयारी गरी लागू गर्न पनि माग गरेको छ ।