काठमाडौं, ४ असार । मकवानपुरको हेटौंडामा भोलिबाट सुरु हुने नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुको भेलाको तयारी पूरा भएको छ ।
भेला आयोजक समितिका सभापति एव् मकवानपुर कांग्रेसका जिल्ला सभापति इन्द्र बानियाँले तीनदिन सम्म चल्ने भेलाको सम्पूर्ण तयारी पूरा भएको बताए । भेलामा ७७ वटै जिल्लाका सभापति सहभागि हुनेछन् ।
भेलाका लागि टाढा–टाढाका जिल्लाका सभापतिहरु मकवानपुर आइसकेका छन् भने नजिकका जिल्लाका सभापतिहरु मंगलबार बिहानसम्म आइपुग्ने संयोजक बानियाँले बताए ।
भेला व्यवस्थापन समितिका अनुसार भेलामा सहभागि हुने सभापतिहरुको आवास, खाना, र भेलाको समाचार प्रसारण गर्न संचार कक्षको समेत व्यवस्थापन गरिएको छ । सभापतिको भेला उद्घाटन अघि हेटौंडामै ‘मेरो रगत कसैको जीवनका लागि’ भन्ने नारासहित रक्तदान कार्यक्रम राखिएको छ । जसमा केन्द्रीय नेताहरुले समेत रक्तदान गर्नेछन् ।
सभापतिहरुको भेलाको पुर्व सन्ध्यामा सोमबारै अपरान्ह नेपाली कांग्रेसले मकवानपुर काङग्रेस पार्टी कार्यलय हेटौडामै केन्द्रीय समिति बैठक बोलाएको छ ।
बैठक सोमबार ४ बजेका लागि बोलाइएको केन्द्रीय सदस्य डा प्रकाशशरण महतले जानकारी दिए । महतका अनुसार बैठकमा भेलाका बारेमा सामान्य छलफल हुने भएपनि कुनै महत्वपुर्ण निर्णय भने गर्ने छैन ।
भेलाका मुख्य तीन एजेण्डा
निर्वाचनमा पराजयपछि काङ्ग्रेसमा नेतृत्व परिवर्तको आवाज उठिरहेका बेला बोलाइएको काङ्ग्रेस सभापतिको भेलालाई काङ्ग्रेसजनले महत्वका साथ हेरेका छन् ।
यद्यपी यो भेलामा मुख्यगरी तीनवटा एजेण्डाका बारेमा छलफल गर्ने तयारी सभापतिहरुले गरेका छन् । तीमध्ये काङ्ग्रेसको विधान संशोधन, संगठन सुदृढिकरण र समसामयिक राजनीतिक अवस्थाका बारेमा व्यापक छलफल गरी निश्कर्षमा पुग्ने काङ्ग्रेस सभापतिहरुले बताएका छन् ।