धनगढी, ३ असार । प्रदेश नं ७ मा खेलकूद क्षेत्रका लागि रु २७ करोड ३४ लाख ६४ हजार बजेट विनियोजन गरिएको छ ।

Advertisement

पहिलो पटक यतिधेरै बजेट विनियोजन गरिएपछि प्रदेश नं ७ का खेलप्रेमी हौसिएका छन् । प्रदेश सरकारले आव २०७५/७६ का लागि प्रदेशसभा बैठकमा असार १ गते उक्त बजेट प्रस्तुत गरेको थियो ।

“खेलकूद क्षेत्रका लागि यति धेरै बजेट हाम्रो क्षेत्रमा यसअघि कहिल्यै आएको थिएन,” कैलाली जिल्ला खेलकूद विकास समितिका अध्यक्ष दीपकबहादुर सिंहले भन्नुभयो । कैलाली जिल्लाको खेलकूद विकासका लागि मात्रै करिब रु नौ करोड बजेट विनियोजन गरिएको छ ।

“बजेट विनियोजनपछि पूर्वाधार बन्ने र खेल गतिविधि बढ्ने भएकाले खेलप्रेमी उत्साहित भएका छन्,” उहाँले भन्नुभयो ।

धनगढीको फाप्ला क्रिकेट मैदान बनाउन रु पाँच करोड, बहुउद्देश्यीय कभर्ड हलका लागि रु एक करोड, जिल्लाका सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा खेलकूदका संरचना निर्माण गर्न रु दुई करोड, मुख्यमन्त्री कप सञ्चालन गर्न रु ७५ लाख, राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी सम्मान गर्न रु १५ लाख र धनगढी रंगशालामा स्वीमिङ पुल निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पार्न रु २० लाख बजेट विनियोजन गरिएको छ ।

फाप्लामा अत्याधुनिक क्रिकेट मैदान बनाउने प्रयाससहित खेलकूदलाई प्राथमिकतामा राख्नु सकारात्मक कुरा भएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाही बताउनुहुन्छ । “सरकारले बजेट छुट्याएपछि ‘ड्रिम फाप्ला’ अभियानलाई प्रोत्साहन मिलेको छ, छुट्याइएको बजेटको सदुपयोग हुनु पर्छ,” उहाँले भन्नुभयो ।

थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी जन्माएको प्रदेश नं ७ को खेल क्षेत्रको विकासका लागि यसअघिसम्म केन्द्र सरकारबाट पर्याप्त बजेट विनियोजन हुन नसक्दा खेलकूदका आवश्यक पूर्वाधार अभावको महसुस खेलाडीहरुले गर्दै आएका थिए । समस्याका बीच पनि यस प्रदेशबाट दीपक विष्ट, विष्णुबहादुर सिंह, डम्मरदत्त भट्ट, जगदीशप्रसाद भट्ट, भरत शाह, निसा रावललगायत थुप्रै अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडी जन्माइसकेको छ ।

प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा ‘स्वस्थ्य युवा, प्रदेशको खम्बा’ नाराका साथ मुख्यमन्त्री कप खेलकूदअन्तर्गत मुख्यमन्त्री कप अन्तरप्रदेश क्रिकेट, फुटबल, भलिबल र ब्याडमिन्टन जस्ता प्रतियोगिता सञ्चालन गरिने छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिई देश र प्रदेशलाई चिनाउने प्रदेशका खेलाडीलाई सम्मान गर्ने नीति पनि प्रदेश सरकारको छ । खेलप्रतिको युवाको बढ्दो आकर्षणलाई सम्बोधन गर्न हरेक प्रदेशसभा निर्वाचन क्षेत्रमा एउटा खेल मैदान निर्माण गर्न रु छ करोड ४० लाख रकम विनियोजन गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!