
चितवन, २३ जेठ । बहुप्रतिक्षित नारायणगढ-मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रेले जोडिएको छ । यससँगै हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको बन्द पनि हटेको छ ।
मंगलबार राति १२ बजे चेपाङ्ग डाँडाको घुम्तीको ६० मिटर सडकमा पहिलो तहको कालोपत्रे गरेपछि सबै सडक कालोपत्रेले जोडिएको हो । अब सडकखण्डमा कहिँ पनि खाल्डाखुल्डी, धुलो र हिलोको समस्या हुने छैन ।
‘सडक निर्माणका लागि भन्दै विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म ६ घण्टा गरिएको बन्द आजबाट हटाइएको सडक आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
गएको पुस १८ गतेबाट दैनिक विहान १० देखि ४ बजेसम्म नारायणगढ-मुग्लिन सडक खण्डमा यातायातका साधन चलाउन बन्द गरेर काम हुँदै आएको थियो ।
आयोजनाका सूचना अधिकारी खनालले भत्काइएको तीन वर्षपछि सडकखण्ड पूर्णरुपमा कालोपत्रे गर्न सफल भएको जानकारी दिए ।
निर्धारित समयभन्दा झण्डै १४ महिना ढिलो यो आयोजना सम्पन्न हुने क्रममा छ । आयोजनालाई तीन खण्डमा विभाजन गरी अलग-अलग ठेकेदारहरु मार्फत निर्माणको काम अघि बढाइएको थियो ।
जसअन्तर्गत आँपटारी-दासढुंगा खण्ड निर्माणको जिम्मा लिएको बीएलए निर्माण कम्पनीले १०.४५ किलोमिटर सडकको सबै स्थानमा दोस्रो तहको पिच सकिसकेको छ भने २ किलोमिटर सडकमा तेस्रो तहको पिच पनि निर्माण भैसकेको छ । यो कम्पनीको भौतिक प्रगति ९१.२ प्रतिशत रहेको छ ।
त्यस्तै दासढुंगादेखि सिमलताल खण्डको निर्माणको जिम्मा लिएको लामा कन्सट्रक्सन कम्पनीले १०.६९ किलोमिटर मध्ये तीन तहकै पिच निर्माणको काम सम्पन्न गरिसकेको छ । यसको भौतिक प्रगति ९७.५० प्रतिशत रहेको छ ।
सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुपि्रम रौतहा निर्माण कम्पनीको १२.१५ किलोमिटरमा पहिलो तहको र ११.८ किलोमिटरसम्म दोस्रो तहको पिच सकिएको छ । यो खण्डमा तेस्रो तहको पिच शुरु भएको छैन । अन्य दुई खण्डको तुलनामा यो खण्ड पहिरोको दृष्टिकोणले बढी जोखिमयुक्त क्षेत्रमा पर्दछ ।
समग्रमा ३३.२ किलोमिटरमध्ये ३२.७ किलोमिटरसम्म दोस्रो तहको पिच सकिएको छ । १२.७ किलोमिटरमा तेस्रो तहको पिच सकिएको छ । हालसम्म आयोजनाको ९१ प्रतिशत काम सकिएको छ ।
बाँकी रहेका ठाउँमा दोस्रो र तेस्रो तहको कालोपत्रे गर्ने काम म्याद थप भएमा सोही समयभित्र र यदि म्याद थप नभएमा जरिवाना तिराएर भएपनि सहजै सम्पन्न गर्न सकिने जानकारहरु बताउँछन् ।
राजधानी काठमाडौंको लाइफलाइनका रुपमा रहेको यो सडकखण्ड निर्माण पूरा गर्न निकै चुनौती पूर्ण थियो । जटिल भौगोलिक बनावट, पहिरोको जोखिम र सवारी चापलाई व्यवस्थित गरेर काम गर्नुपर्ने अवस्थालाई हेर्दा सडक निर्माण निकै महत्वाकांक्षी मानिएको थियो ।


















