काठमाडौं । इन्डोनेसियामा उच्च शिक्षा पास गरेका १८ देखि २० वर्षका युवतीलाई सेना र प्रहरीमा भर्ना गर्नुअघि भर्जिनिटी टेस्ट अनिवार्य छ । ह्युमनराइट वाचले गरेको अध्ययनअनुसार यस्तो परीक्षण हवाई फोर्स, सेना र नौसेनामा भर्ना हुने अधिकृतलाई अनिवार्य छ ।
स्थानीय सरकारले सार्वजनिक सेवामा प्रवेश गर्न चाहने युवतीका लागि पनि परीक्षण अनिवार्य गरेका छन् । केही वर्षअघि जेम्बर, पूर्वी जाभालगायतका प्रान्तमा हाई स्कुलबाट स्नातक गर्नुअघि परीक्षण खारेज भए पनि लागू हुन सकेको छैन ।
कसरी हुन्छ परीक्षण ?
दुई औँलाको परीक्षण दिएको सो अभ्यासमा चिकित्सकले महिलाको योनिच्छेद र त्यसको आकारको साथै योनीको शिथिलता अध्ययन गर्छन् । परीक्षणपछि युवतीले यौनसम्बन्ध राखे–नराखेको खुलासा हुने दाबी गरिएको छ ।
वासिङ्टन पोस्टका अनुसार सो परीक्षण सेनामा प्रवेश गर्ने महिलाका लागि पहिलो खुड्किलो हो । ‘सेनामा भर्ती हुन चाहने युवतीले नग्न भएर परीक्षणका लागि चिकित्सकका अगाडि तयार हुनुपर्छ । महिलाहरू कथित भर्जिन छन् भन्ने सुनिश्चित गर्न यस्तो गरिन्छ,’ सो पत्रिकाले टिप्पणी गरेको छ ।
तर, परीक्षणले महिलाको भर्जिनिटी यकिन नहुने विज्ञहरू बताउँछन् । योनिच्छेदको अवस्थाले कुनै पनि युवती भर्जिन भए–नभएको थाहा नहुने उनीहरू बताउँछन् ।
कुमारीत्व परीक्षणको महत्व सेनाको सूचना विभागका प्रमुख मेजर जनरल फउड बास्याका अनुसार भर्ती हुनुपूर्व परीक्षण अपरिहार्य छ । ‘परीक्षण नगर्ने हो भने खराब चरित्रका व्यक्ति सेनामा प्रवेश गर्न सक्छन् । सेना राष्ट्रका रक्षक हुन् । उनीहरूलाई नैतिक आचरणमा राख्नुपर्छ,’ उनी भन्छन् । युवतीबारे चासो देखाउने सेना पुरुषबारे भने मौन छ ।
उम्मेदवारले भर्जिनिटी गुमाएमा ऊ सेनाका लागि अयोग्य हुने उनी दाबी गर्छन् । ‘इन्डोनेसियाली सेनाले चरित्रहीन उम्मेदवारलाई कुनै हालतमा भर्ना गर्न सक्दैन,’ उनी भन्छन् ।महिला सेनामा भर्ती गर्नुअघि कुमारीत्व परीक्षण अनिवार्य भएको इन्डोनेसियाली सेनाका कमान्डर मोइलेडोका बताउँछन् । परीक्षणले युवतीको नैतिक आचरण थाहा हुने उनको भनाइ छ ।
सेनाको सूचना विभागका प्रमुख मेजर जनरल फउड बास्याका अनुसार भर्ती हुनुपूर्व कुमारीत्व परीक्षण अपरिहार्य छ, परीक्षण नगर्ने हो भने खराब चरित्रका व्यक्ति सेनामा प्रवेश गर्न सक्छन्
महिला भर्जिन हुनु र सेनाको फौजमा कार्य गर्न क्षमता राख्नुको एक–अर्कासँग प्रत्यक्ष सम्बन्ध नरहे पनि भर्जिनिटीले महिलाको नैतिकता मापन गर्ने उनको भनाइ छ । परीक्षण आगामी दिनमा पनि निरन्तर हुने उनको भनाइ छ ।
भन्छन्, ‘भावी दिनमा पनि हामी निरन्तर परीक्षण गर्नेछौँ । किनकि, सबैभन्दा महत्वपूर्ण विषय भनेको तपार्इंको मानसिकता हो । शारीरिक र बौद्धिक आवश्यकता भनेका कम महत्वका विषय हुन् ।
परीक्षणको विरोध यातनापीडितका लागि अन्तर्राष्ट्रिय परिषद् (आइआरसिटी)ले पनि परीक्षणले महिलाको मानवअधिकारको हनन गरेको जनाएको छ । ‘परीक्षणले महिलाअधिकारको हनन गर्नुका साथै अन्तर्राष्ट्रिय कानुनअन्तर्गत दुव्र्यवहार हो,’ आइआरसिटीले भनेको छ ।
सेनाका प्रस्तावित बेहुलाले समेत विवाहअघि कन्याको कुमारीत्व परीक्षणको माग गर्ने गरेको आइआरसिटी र एचआरडब्लुले जनाएका छन, तथापी सेनाले भने यसलाई अस्वीकार गरेको छ । परीक्षणको ह्युमनराइट्स वाचले विरोध गरेको छ । वाचका अनुसन्धानकर्ता एन्ड्रिज हारसोनका अनुसार परीक्षणले युवतीमाथि अपमान गरेको छ ।
भर्जिनिटी टेस्टबारे विश्वभर बहस उच्च माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीलाई एक राजनीतिक दलले भर्जिनिटी टेस्ट गर्नुपर्ने बताएपछि पछिल्लो समयमा दक्षिण अफ्रिकामा यो गरम विषय बनेको हो । किशोरीको गर्भवती दर रोक्न उसले यस्तो आग्रह गरे पनि दक्षिण अफ्रिकाभर यसको विरोध भएको छ ।
परीक्षणभन्दा पनि आत्म–अनुशासनका लागि चेतना आवश्यक भएको उनीहरू बताउँछन् । भारतमा सन् २००९ मा केरेलामा केही भिक्षुणीमाथि गरिएको परीक्षणलाई लिएर हजारौँ महिला प्रदर्शनमा उत्रिएका थिए ।
सरकारले आयोजना गरेको सामूहिक विवाह कार्यक्रममा सहभागी एक सय ५१ युवतीको भर्जिनिटी टेस्ट भएपछि भारतभर विरोध भएको थियो । सन् २०११ मा इजिप्टको एक अदालतले सेनाको कैदमा रहेका महिला कैदीको योनि परीक्षण बन्द गर्न आदेश दिएको थियो ।