काठमाडौँ,१५ जेठ । ११ औं गणतन्त्र दिवस आज विविध कार्यक्रम गरि देशभर मनाईंदै छ । काठमाडौंको टुँडिखेल लगायत देशका विभिन्नस्थानमा भेला, कार्यक्रम तथा अन्तरक्रिया आयोजना गरिएको छ ।
२०६२/६३ को जनआन्दोलनको उपलब्धि मुख्य उपलव्धि गणतन्त्र स्थापना हो । गणतन्त्रका लागि आहुति दिने शहीदको सम्झना गरिदैछ । गणतन्त्र दिवसका अवसरमा आज ७ वटै प्रदेशमा प्रभातफेरि, खेलकुद, प्रवचन, गोष्ठी एवं सांस्कृतिक कार्यक्रम समेत हुँदैछ । संघीय सरकारले आज दिंदै आएको सार्वजनिक विदा कटौती गरेपनि प्रदेश नम्बर ५ को सरकारले प्रदेशमा सार्वजनिक विदा घोषणा गरेको छ ।
समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो ।
समारोहमा मुलुकको राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारण गरियो ।
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले शान्तिका प्रतीक एक÷एक जोडी परेवा उडाउनुभएको थियो ।
समारोहमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गर्नुभएको थियो ।