काठमाडौँ, ११ जेठ । नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले केही दिनदेखि आफूले काठमाडौबाट रेलमा नै दिल्ली र युरोप पुग्ने गरेको सपना देख्ने गरेको बताएका छन्। उनले मुलुकलाई सम्वृद्ध र सुखी नेपाली बनाउने नीति तथा कार्यक्रम भित्रका सपनालाई समर्थन गर्न प्रतिपक्षी दललाई आह्वान गरे।

Advertisement

ठूलो दल र सत्तापक्षको दम्भ आफूहरुमा नरहेको भन्दै उनले सरकारसँग मिलेर काम गर्न प्रतिपक्षी दललाई आग्रह गरे। उनले प्रतिपक्षीलाई असल प्रतिपक्षीको जिम्मेवारी निर्वाह गर्नतर्फ सचेत गराए।

सम्वृद्ध नेपाल बनाउने लक्ष्य अनुरुप नै सरकारको नीति तथा कार्यक्रम आएकाले मुलुक बनाउने काममा साथ दिन प्रतिपक्षी दललाई आग्रह गरे।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा शुक्रबारको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सांसद नेम्वाङले सम्वृद्ध नेपाल निर्माणका लागि ल्याइएको नीति तथा कार्यक्रममा समर्थन गर्न प्रतिपक्षी दललाई आह्वान गरे।

उनले निर्वाचनका समयमा जनतासमक्ष गरेका प्रतिवद्धता पूरा गर्ने लक्ष्यसहित सरकारको नीति तथा कार्यक्रम आएको जिकिर गरे। निर्वाचनका समयमा आफूले गरेका प्रतिवद्धतालाई सिंगै बोक्ने काम सरकारले गरेको उल्लेख गर्दै उनले फूलको आँखामा फूलै संसार र काँडाको आखामा काँडै संसार भने जस्तै यसलाई सकारात्मक दृष्टिकोणबाट हेर्नुपर्ने बताए। उनले जनतासँग गरेको बाचा बन्धन र प्रतिवद्धताका आधारमा नीति तथा कार्यक्रम आएकाले यो जनअनुमोदित र जनताको जनादेशमा आधारित रहेको दाबी गरे।

मुलुक बनाउनका लागि जनतालाई देखाइएको सपनालाई जनताले पनि पत्याएकाले सरकारले नीति तथा कार्यक्रम सफल पार्ने ढंगले बजेट ल्याउनुपर्ने उनले उल्लेख गरे। उनले देश र जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संसोधन हुन सक्ने स्पष्ट पारे। उनले बुँदा नम्बर ८७ मा नेपालको संविधानको कार्यान्वयनलाई सबैको साझा दायित्व हो भनिएकाले संघियतालाई नीति तथा कार्यक्रमले आत्मसाथ गरेन भन्न नमिल्ने तर्क गरे।

बुँदा नम्बर ५० मा हुलाकी राजमार्गलगायत अघिल्ला कार्यक्रमसँगै नयाँ कार्यक्रमको निर्माण र प्राथमिकता बारे उल्लेख गरिएको बताए। राष्ट्रपतिलाई महारानी बनाउन खोजेको भनेर पनि बैठकमा टिप्पणी भएको भन्दै उनले महारानी भन्ने शब्द खोजेर रेकर्डबाट मेटाउन सभामुखसँग आग्रह गरे।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!