Avatar photoSangalo Khabar

तेह्रथुम। आठराई गाउँपालिका–२, खाम्लालुङको तीनजुरे अभियान चौतारीमा गरिबी विश्लेषण र निराकरणका उपायसम्बन्धी दुईदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी अभियान चौतारीका सदस्य महिला, स्थानीय अगुवा, शिक्षक र वडा नागरिक मञ्चका प्रतिनिधि आफैँले आफूहरुको गरिबीका कारणबारे छलफल गरेका थिए ।

Advertisement

सहभागीले आफूहरुको समाजमा व्याप्त गरिबीका कारण बचत गर्न नसक्नु, जाँडरक्सीको अत्यधिक सेवन, सेवा प्रदायक कार्यालयको कमजोर सेवा प्रवाह, गुणस्तरहीन शिक्षा, सचेतनाको अभाव आदि रहेको विश्लेषण गर्दै महसुससमेत गरेका छन् ।

एक्सन एड नेपालको सहयोगमा देउराली सोसाइटीले स्थानीय अधिकार कार्यक्रमअन्तर्गत आयोजना गरेको कार्यक्रममा सहभागीलाई सोसाइटीका कार्यक्रम संयोजक नरबहादुर लिम्बू र नागरिक शिक्षा अधिकृत खगेन्द्र सापकोटाले सहजीकरण गर्नुभएको थियो । सहभागीलाई वृक्ष विश्लेषण विधिबाट छलफल गराई गरिबी न्यूनीकरणका उपायबारे समेत महसुस गराइएको कार्यक्रम संयोजक लिम्बूले बताउनुभयो ।

कार्यक्रममा सहभागीले गरिबी न्यूनीकरणका लागि आगामी दिनमा फजुल खर्च कम गर्ने, बचत गर्ने बानीको विकास गर्ने, सेवा प्रदायक निकायको सेवा प्रवाहलाई व्यवस्थित बनाउन माग गर्नेलगायत प्रतिबद्धतासमेत जनाएका छन् । अभियान चौतारीकी अध्यक्ष सावित्रा लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा ३१ जना सहभागी थिए ।

आठराई गाउँपालिकाका सबै वडामा देउराली सोसाइटीले स्थानीय अधिकार कार्यक्रम सञ्चालन गरिरहेको छ । सो कार्यक्रम सञ्चालित क्षेत्रका दुर्गम तथा पिछाडिएका बस्तीमा करिब दुई दर्जन अभियान चौतारी समूह गठन भएका छन् ।

ती समुदायको आर्थिक स्तरोन्नतिका लागि बढीभन्दा बढी समूहमा पुगेर गरिबी विश्लेषण गर्दै आर्थिक उपार्जनमा लाग्न प्रेरित गरिने सोसाइटीका नागरिक शिक्षा अधिकृत खगेन्द्र सापकोटाले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement