अजित कुमार झा/ रासस

इनरुवा । सुनसरी इनरुवा–९ बबियाका बलदेव मेहतालाई गाईभँैसीको दूध कहाँ र कसलाई बेच्ने भन्ने समस्याले सताएको थियो ।

Advertisement

दैनिकरुपमा गाईभैँसीबाट उत्पादन हुने पाँचदेखि १० लिटर दूध बेच्न मेहतालाई समस्या हुन्थ्यो । तर अहिले उहाँ त्यो समस्याबाट मुक्त हुनुभएको छ । उहाँलाई मात्र नभई सुनसरी बबिया गाविसका दर्जनौँ किसानलाई गाउँमा दूध सङ्कलन केन्द्र नहुँदा चिन्ताले सताएको थियो । कृषकले दूधको उचित मूल्य नपाएको र बजारसमेत नपाएर दूध कहाँ बिक्री गर्ने भन्ने समस्या रहेको थियो । तर, अहिले त्यो समस्याबाट कृषकले उन्मुक्ति पाएका छन् ।

कारण एउटै हो सुनसरी सदरमुकाम इनरुवामा रहेको नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्र । केन्द्रले सधैँ गाउँमै गएर किसानको दूध सङ्कलन गर्न थालेपछि किसानलाई राहत मिलेको छ ।

पहिले कहाँ दूध बेच्ने, कसरी बेच्ने भने चिन्ताले सताएको बेला अहिले नवयुगले गाउँमै आएर दूध सङ्कलन गर्न थालेकाले त्यो सबै चिन्ताले मुक्त भएको बबियाका कृषक बलदेव यादवको भनाइ छ । समयमा दूध नबिक्ने, बिके पनि उचित मूल्य नपाउने समस्याको सामना गर्दै आएका बबियाका कृषकले नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्रले दूध सङ्कलन थालेपछि राहतको महसुस गरेका छन् ।

बबियामा केन्द्रले दैनिकरुपमा दुईसय लिटर दूध सङ्कलन गर्दै आएको छ । यहाँको एउटै गाउँको दुई स्थानमा लगाताररुपमा दुग्ध सङ्कलन गर्दै आएको स्थानीयवासीले बताएका छन् ।

बबियासहित अन्य केन्द्रमा गरी दैनिक ४०० कृषकबाट ६०० लिटर दूध सङ्कलन गर्दै आएको र केन्द्रलाई दिगोरुपमा टिकाइराख्न सबैको साथ र सहयोग आवश्यक रहेको सञ्चालक गोविन्द पोखरेलले बताउनुभयो । पोखरेलका अनुसार २०७० सालमा स्थापना भएको केन्द्रले मधेसा, बबिया र इनरुवामा गरी चार स्थानमा सङ्कलन केन्द्र स्थापना गरेको छ ।

केन्द्रले समूहमार्फत कृषक कल्याण कोषसमेत स्थापना गरेको पोखरेलले बताउनुभयो । केन्द्रले कोषबाट रु ८५ हजार सङ्कलन भएको र पाँच प्रतिशतका दरले केन्द्रले थपेर कोष सञ्चालनको अवस्थामा राखेको बताइएको छ । उक्त केन्द्रले रु २२ लाखको भौतिक सामग्री राखेको छ भने वार्षिक २०० हजार लिटर बढी दूध सङ्कलन गर्दै आएको छ ।

त्यस्तै, संस्थाले जनसेवा तथा सामाजिक सेवाअन्तर्गत प्रत्येक महिनाको पहिलो शनिबार ज्येष्ठ नागरिकलाई निःशुल्क तातो दूध वितरण गर्दै आएको छ । केन्द्रले शुद्ध र सफा दूध र निरोगी तथा स्वस्थ दूध उत्पादन तथा बिक्री वितरणमा जोड दिएकाले किसान र उपभोक्ता दुवैलाई फाइदा भएको सञ्चालक राजकुमार न्यौपानेले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!