रासस

काठमाडौँ, २९ वैशाख । नेपाल र भारतले संयुक्त रुपमा केही महत्वपूर्ण जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने भएका छन् ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा आएका भारतीय प्रधानमन्त्रीले पञ्चेश्वरलगायत महत्वपूर्ण बहुउद्देश्यीय आयोजना शीघ्र अगाडि बढाउने प्रतिबद्धता जनाएका हुन् । काठमाडौंमा शुक्रबार साँझ आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले पञ्चेश्वर आयोजनालाई शीघ्र अगाडि बढाइने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिए ।

केही दिन पहिले सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको काम आगामी छ महिनाभित्र सम्पन्न गर्ने सहमति गरेको छ । सो सहमतिअनुसार डिपिआरलाई अन्तिम रुप दिने र आयोजना शुरु गर्ने विषयमा छलफल भएको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो आयोजनाको डिपिआर तयार गर्ने कार्य जारी छ । आगामी केही महिनाभित्रै डिपिआर सम्पन्न गरेर आयोजनाको निर्माण गरिने प्रतिबद्धता दुवै प्रधानमन्त्रीले जनाए ।

यस्तै बुटवल– गोरखपुर ४०० केभी प्रसारण लाइनको निर्माणलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढाउने विषयमा समेत दुई प्रधानमन्त्रीबीच महत्वपूर्ण छलफल भएको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो प्रसारण लाइन नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन हो । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयन्त्रको अघिल्लो महिनाबीच सम्पन्न बैठकले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको वित्तीय स्रोत व्यवस्थापन र प्रारूपबारे सहमति जुटाएको थियो ।

नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले त्यसबारे थप अध्ययन गरी तीन महिनामा विस्तृत प्रतिवेदन बुझाउने सहमति बैठकमा भएको थियो । यस्तै विद्युत् खरीद बिक्रीलाई सहज बनाउने र इनर्जी बैंकिङ अवधारणामा समेत सोही विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीको २३ चैतदेखि २५ सम्म भएको भारत भ्रमणमा समेत उक्त विषयमा छलफल भएको थियो ।

१ सय ३० किलोमिटर लामो बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न भएपछि कालीगण्डकी करिडोर र बूढीगण्डकीलगायत आयोजनाबाट उत्पादित विद्युत् भारत निर्यातका लागि समेत मार्गप्रशस्त हुनेछ । यसअघि निर्माण भएको ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट नेपालले हाल १४० मेगावाट विद्युत् आयात गरिरहेको छ ।

यस्तै इनर्जी बैंकिङलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने विषयमा समेत महत्वपूर्ण छलफल भएको र त्यसमा भारतका प्रधानमन्त्रीले सहमति जनाएको प्रधानमन्त्री ओलीले जानकारी दिए । माथिल्लो तामाकोशीलगायत आयोजना निर्माण भएपछि वर्षाको समयमा खेर जाने विद्युत् भारत पठाउने र नेपाललाई आवश्यक परेको समयमा आयात गर्ने इनर्जी बैंकिङ प्रभावकारी अवधारणा हो ।

नेपालमा वर्षाको समयमा बढी विद्युत् उत्पादन हुने र भारतमा सोही समयमा नै बढी विद्युत् माग हुने भएकाले इनर्जी बैंकिङ नेपालका लागि महत्वपूर्ण रहने प्राधिकरणको भनाइ छ । इनर्जी बैंकिङ एउटा व्यावसायिक अवधारणा भएकाले त्यसले ऊर्जाको माग बढी हुने समयमा नेपालको हितमा प्रयोग गर्न सकिने विश्वास लिइएको छ । प्रधानमन्त्री ओलीले नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण छलफल भएको र त्यसबाट नेपालले फाइदा लिने विश्वास व्यक्त गरे ।

भारतीय प्रधानमन्त्री मोदीले भारतको जलसाधन तथा ऊर्जा मन्त्रालयले आज नयाँ अध्याय थपेको उल्लेख गरे । उनले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने अवसर प्राप्त गरेकामा खुशी व्यक्त गरे । भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्ने सो आयोजना सम्झौता भएको पाँच वर्षपछि शिलान्यास भएको हो ।

नेपालले अगाडि बढाउने ठूला परियोजनामा साथ दिने उनको प्रतिबद्धता थियो । उनले त्यस्ता आयोजनाबाट नेपालमा रोजगारीको अवसर वृद्धि हुने र आर्थिक तथा व्यावसायिक अवसरमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!