धनुषा,२५ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने टुंगो लागेदेखि नै जनकपुरमा सरकारी निकाय व्यस्त बनेको छ । उनीहरुलाई काम गर्न भ्याईनभ्याई छ । २० वर्षमा पनि हुन नसकेको काम मोदीको स्वागतको नाममा १० दिनमै हुँदा स्थानीयवासी आश्चर्यचकित भएका छन् । जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघा, विवाहमण्डपको पर्खाल, रामानन्द चोकदेखि जानकी मन्दिरसम्मको सडक अहिले चिटिक्क पारिएको छ ।

Advertisement

वैशाख २८ गते मोदीलाई जानकी मन्दिरमा दर्शन र बाह्रविघा मैदानमा अभिनन्दन गर्ने  कार्यक्रम छ । मोदीको नाममा भइरहेको कल्पना नै नगरेको काम देखेपछि जनकपुरबासी यतिबेला भन्दैछन् ‘मोदीको नाममा चमत्कार भइरहेछ ।’

चिटिक्क बाह्रविघा मैदान

वर्षौंदेखि खाल्डाखुल्डी, फोहर, प्लास्टिकका टुक्रा, पर्चापोष्टर र पेन्टिङले कुरुप देखिने बाह्रविघा मैदानले एकहप्तामै मुहार फेरेको छ । हप्ता दिनमा बाह्रविघा मैदानलाई यसरी सिंगारिएको छ कि हेर्दा त्यो कुनै जादु जस्तै लाग्छ ।

मैदानको खाल्डाखुल्डी पुरेर सम्याइएको छ । फोहोर सफाई गरिएको छ । पर्खाल भत्केको ठाउँमा टालटुल पारेर जोडिएको छ भने पर्खालका भित्ता कशरिया रंगले पोतिएको छ । बाह्रविघाको दक्षिणतर्फको पर्खालमा मिथिला चित्रकला कोरेर आकर्षक रुपमा सजाइएको छ ।

बाह्रविघा मैदान आजभोलि सुरक्षाकर्मीको घेरामा छ । बाह्रविघामा प्रवेश निषेध गरी भित्र मञ्च व्यवस्थापन र एकलाख मानिस अट्नेगरि टेण्ट निर्माणको काम धमाधम भइरहेको छ । बाह्रविघा मैदानको पर्खालको पेण्टिङ र चित्रकला बाहेक सबै काम प्रदेश सरकारले गरिरहेको हो ।

जानकी मन्दिरदेखि रामानन्द चोकसम्मको सडक एकै रातमा कालोपत्रे

रामानन्द चोकदेखि जानकी मन्दिरसम्मको सडक मंगलबार बिहान उठ्दा सोमबार बेलुकाको जस्तो थिएन । सपना जस्तै लाग्नेगरि एकै रातमा सडकले काँचुली फेरेको देख्दा चोकबासी चकित परेका छन् ।

मोदी त्यही बाटो भएर जानकी मन्दिर र बाह्रविघा मैदान जाने भएकाले जनकपुर उपमहानगरपालिकाले एकै रातमा सडक कालोपत्रे गरेको हो । वर्षैभरि जीर्ण सडकमा आवतजावत गर्न सर्वसाधारणले सास्ती पाए पनि यो सडक कालोपत्रे गर्नेबारे सरकारले नसुनेको तर मोदी आउने भएपछि एकै रातमा कालोपत्रे भएको देख्दा काम गर्न खोजे त सकिने रहेछनि भन्ने पुष्टि पनि भएको यहाँका ब्यापारी र बुद्धिजिवीले बताएका छन् ।

तर मापदण्ड अनुसार सडक कालोपत्रे नभएकाले मोदी गएसँगै कालोपत्रे पनि उप्किने स्थानीय बासिन्दाको ठम्याइ छ ।

विवाहमण्डपको कुरुप भित्ता मिथिला चित्रकलाले मनमोहक

थरिथरिका प्रचार सामाग्रीले कुरुप रहने जानकी मन्दिर र विवाह मण्डपको पर्खालको भित्ता अहिले आकर्षक बनाइएको छ । पर्खालको भित्तामा सेतो रंग पोतेर रामायणकालीन झल्को दिने मिथिला चित्रकला कोरिएको छ । जसमा सीताको जन्मदेखि रामसीताको विवाहसम्मको चित्रकला उतारिएको छ । मोदी यहि बाटो भएर मोदी जानकी मन्दिर जाने र फर्किने भएकाले अहिले विवाहमण्डपको पर्खाल मनमोहक बनेको छ ।

जानकी मन्दिरमा रंगरोगन, फुटपाथका पसल हटाइयो

जानकी मन्दिरको रंग उडेको ठाउँमा रंगरोगन गरेर चिरिच्याट्ट पार्ने काम गर्न अहिले भ्याइनभ्याई छ । समय कम रहेकाले पुरै जानकी मन्दिरकै रंगरोगन गर्न नभ्याइएकाले रंग उडेको भित्ता रंगरोगन गरेर नयाँ जस्तै बनाउने काम भइरहेको हो ।

जानकी मन्दिरको प्रांगण कब्जा गरेर बसेका पसलेलाई अहिले हटाइएको छ । यसले जानकी मन्दिर खुला भएको छ । जानकी मन्दिरमा मोदीले विशेष पूजाअर्चना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई जानकी मन्दिरमै स्वागत गर्ने तयारी छ । स्वागत र पूजाअर्चना पश्चात दुवैजनाले संयुक्त रुपमा रामायण सर्किटको शिलान्यास गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महिनामा एकदिन पनि सफा नहुने सडकमा हप्तामै दुई दिन झाडु

फोहोरमैला व्यवस्थापन जनकपुरको सबभन्दा ठुलो समस्या हो । नगरको धेरै ठाउँमा अहिले महिनामा एकदिन पनि फोहोर उठाइदैन । जानकी मन्दिरकै उत्तरतर्फ सडकसंगै रहेको तेल्हा मरहा पोखरीको डिल बर्षौदेखि दिसापिसाव र फोहोरले दुर्गन्धित थियो । त्यहाँ जाँदा नाक थुन्नुपर्ने  अवस्था थियो । महिनामा एकपटक पनि सरसफाइ नहुने त्यो ठाउँले पनि मोदीको नाममा चिटिक्क हुने मौका पाएको छ ।

जनकपुरको रामानन्द चोकसम्मको सडकमा मुख्यमन्त्रीदेखि, मन्त्रीहरु, सांसद, प्रहरी, नेपाली सेना र नागरिक समाज लगायतले दुई दिन झाडु लगाएर सफा गरेका छन् ।  अहिले जनकपुर उपमहानगरपालिकाले नियमित सरसफाई गरिरहेको छ । रामानन्दचोकदेखि जानकी मन्दिरसम्मको सडक जनकपुर नै होइन कि झैं लाग्नेगरि चिटिक्क पारिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!