
दमक, १४ वैशाख । पूर्वमा शरणागत जीवन बिताउदै आएका भुटानी शरणार्थीहरुको एक टोलीले नेपाल सरकारका अधिकारीहरुसंग भेट गरेर शरणार्थी समस्या समाधान गर्न आग्रह गरेका छन् ।
शरणार्थी व्यवस्थापनमा संलग्न शिविरका प्रतिनिधिमूलक एक टोलीले नेपाल सरकारका जिम्मेवार मन्त्रालय तथा विभिन्न राजनीतिक दलका प्रतिनिधहरुसंग भेटघाट गरेर शरणार्थी मामिलाका बारेमा ध्यानकर्षण गराएका हुन् ।
टोलीले दमकमा आज पत्रकार सम्मेलन गर्दै शरणार्थी समस्याको स्थायी समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण गरिएको बेलडाँगी शिविरका क्याम्प सचिव टिकाराम रसाइलीले बताए । उनका अनुसार टोलीले स्वदेश फिर्ती, इच्छुकहरुलाई तेस्रो मुलुक पु्नर्वास, स्थानीयकरण, अन्तर्राष्ट्रियकरण र दर्तामा छुटेकाहरुलाई दर्ता प्रकृयाको माग गरिएको बताइएको छ ।
तीन दिन अघि काठमाण्डौ पुगेर त्यस टोलीले गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायोग नेपाल प्रमुख मिनाको काकुमा, गृहसचिव प्रेमकुमार राई, शरणार्थी समन्वय इकाइका उपसचिव मुनका न्यौपानेसहितलाई भेटेर त्यस्तो ध्यानाकर्षण गरिएको हो । टोलीमा मोरङस्थित पथरी–शनिश्चरे शिविर सचिव चम्पासिंह राई, बेलडाँगी शिविर सचिव रसाइली,पूर्व सचिव युवराज साङ्पाङ्ग राईसहितका अगुवाहरु सहभागि थिए ।
फेसबुकमा कमेन्ट गर्दा दुई घाइते
यसैबीच, सामाजिक सञ्जाल फेसबुकमा लेखेको कमेन्टको विषयलाई लिएर दुई समूहका युवाबीच झगडा हुँदा झापाको दमकमा बिहीबार दुईजना घाइते भएका छन् ।
युवा समूहवीच छुरा तथा बोतल हानाहान हुँदा दमक–५ का दुई युवा घाइते भएका हुन् । घाइते हुनेमा दमक–५ का सन्दीप मगर र सिद्धान्त आचार्य रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका अनुसार घाइतेद्वयले एउटी युवतीको फेसबुकमा कमेन्ट गर्दा अर्का युवाको समूहले सांघातिक आक्रमण गरेका थिए ।
घाइतेको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको र झगडामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइतेको टाउको र पेटमा चोट लागेको बताइएको छ । दिउँसै मध्यचोकमा चक्कु र छुरी बोकेर ग्याङ फाइट हुँदा त्यस क्षेत्रका बासिन्दा त्रसित भएका थिए ।















