
काठमाडौँ, २१ चैत । सरकारले अमेरिकाको मेट्रो पोलिट्यान म्युजियममा रहेको २ वटा पूरातात्विक महत्वको मूर्ति फिर्ता ल्याएको छ। नेपालबाट ८८ वर्ष अघि हराएको बुद्धको मूर्ति र ९५ वर्ष अघि हराएको उमा महेश्वरको मूर्ति बुधबार नेपाल फिर्ता भएको हो।
मेट्रो पोलिटन म्युजियमले आफूहरुको दावी पछि दुवै मूर्ति नेपाल फिर्ता पठाएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए। विभागले मूर्ति फिर्ताका लागि म्यूजियमसँग दावीसहितको पत्र पठाएको थियो। मूर्ति फिर्ता लिन अमेरिकास्थित महावाणिज्य दुतावासले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो।
अमेरिकास्थित महावाणिज्य दुत मधु मरासिनीले मेट्रो पोलिटन म्युजियमले मूर्ति फिर्ता सहज ढंगले गरिदिएको बताए। बुधबार पूरातत्व विभागको कार्यालयमा बुझाइएको दुवै मूर्ति ११ औं, १२ औं शताब्दीतिर निर्माण भएका हुन्।
बुद्धको मूर्ति विक्रम संवत १९८६ मा काठमाडौंको याटखाबाट हराएको थियो भने विक्रम संवत १९८० मा उमा महेश्वरको मूर्ति ललितपुरको पाटनस्थित टंगालहिटीबाट हराएको थियो। विभागमा महानिर्देशक दाहालले मूर्ति फिर्ता गरिदिएकोमा अमेरिकास्थित मेट्रो पोलिटन म्युजियमलाई धन्यवाद व्यक्त गरे।
उनले नेपालबाट हराएको मूति फिर्ता गर्न पनि सम्बन्धित निकायसँग आग्रह गरेका छन्। नेपालबाट धेरै प्राचीन कलाका मूर्तिहरु चोरी भएका छन्। ती सबै मूर्तिहरु फिर्ता लिन आवश्यक कदम चाल्ने विभागको योजना छ। पूरातत्व विभागले नेपालस्थित कूटनीतिक नियोगको सहयोगमा नेपालबाट हराएको मूर्तिहरुको खोजी गर्ने कार्ययोजना पनि तय गरिसकेको छ।


















