
कञ्चनपुर, १८ चैत । खानेपानी मन्त्री बिना मगरले प्रतिनिधिसभा सदस्यमा निर्वाचन जितेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका महिलाका लागि पाठेघर र स्तन क्यान्सरबारे प्रारम्भिक जाँच शिविर सुरु गरिएको छ।
पुनर्वास नगरपालिका ३ कालिका बजारको श्री जनकल्याण माविमा आइतबार सुरु भएको शिविर १ नम्बर निर्वाचन क्षेत्रकै बेलौरी र बेल्डाँडीमा मंगलबारसम्म सञ्चालन गरिने छ।
शिविर उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले क्यान्सरबाट आफ्नो क्षेत्रका महिलाले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर स्वास्थ्य अवस्थाबारे जान्न शिविर सञ्चालन गरिएको बताइन्। एकपटक जाँच गरे ५ वर्ष ढुक्क बस्न सकिने र फेरि यस्ता स्वास्थ्य शिविर सञ्चालन गरिने उनको भनाई छ।
प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा क्रान्तिकारी महिला सञ्जालले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग सहकार्य गरी शिविर आयोजना गरेको हो। ‘क्यान्सरबाट ज्ञानु दिदीको निधन भएपछि हाम्रा प्रिय प्रकाश दाहालले यस्ता शिविर सञ्चालन गर्नुपर्छ भन्ने योजना बनाउनुभएको थियो, मन्त्री मगरले भनिन, ‘उहाँको सपना पूरा गर्न र महिलालाई अकाल मृत्युको मुखबाट बचाउन यस्ता शिविर देशैभरी सञ्चालन गर्ने सोच छ।’
शिविर सञ्चालन समितिकी संयोजक सरु दाहालले क्यान्सरको संक्रमण देखिएका महिलालाई निशुल्क औषधिको समेत व्यवस्था रहेको बताइन। उनका अनुसार शिविरमा एकै पटक ४ ठाउँमा जाँचको व्यवस्था गरिएको र दैनिक ६ ७ सय महिलाको जाच गरिने उनले जानकारी दिइन।
क्यान्सर अस्पतालका निर्देशक डा विजय चन्द्र आचार्यले पाठेघरको मुख र स्तनको क्यान्सर हुनुअघि नै जाँच गरेर सावधानी अपनाउन सके अकाल मृत्युबाट वच्न सकिने बताए।
पुनर्वास, बेलौरी नगरपालिका र बेल्डाडी गाउँपालिकामा हुने शिविरमा २ हजारभन्दा बढी महिलाले क्यान्सर जाँच गर्ने अनुमान गरिएको छ।















