
बाहिर सिमसिम पानी परिरहेको थियो । यस्तो लाग्थ्यो, क्याम्ब्रिज आफ्नो एक होनाहार हस्तीको बिदाइमा रोइरहेको छ । शनिबार प्रसिद्ध बेलायती भौतिकशास्त्री स्टेफन हकिङको कफिन क्याम्ब्रिजको चर्चित ‘किङ्स परेड’ मार्गबाट ग्रेट सेन्ट म्यारी चर्चतर्फ अघि बढाइरहँदा सम्मान व्यक्त गर्न हजारौं नागरिक सडक छेउमा उपस्थित थिए । हकिङको मलामी उनले ५० वर्षभन्दा बढी समय पढाएको गोन्भिल र काइस कलेजबाट निकालिएको थियो । कलेज र चर्चबीच केही मात्र दूरी रहेको छ ।
मलामी यात्रामा उनका तीन सन्तान रोबर्ट, लुसी र टिमले कफिन बोकेको गाडी पछि हिँडेका थिए ।
लगभग ५०० परिवारका सदस्य, साथीहरू र सहकमी निजी अत्यष्टीमा सहभागी भए । उनको कफिनलाई ६ जना भरियाहरूले बोकेर चर्चभित्र लगेका थिए । कफिन बोक्नेहरू हकिङको जीवनकालमा उनलाई भ्रमणका क्रममा सहयोग गर्ने सहयोगीहरू थिए । हकिङको परिवारको विशेष आग्रहमा उनीहरू उपस्थित भएका थिए । उनीहरू सबैले कालो पहिरन लगाएका थिए ।
कफिनलाई सेतो लिली र सेतो गुलाफले सजाइएको थियो । सेतो लिलीलाई ब्रह्माण्डको प्रतीकका रूपमा र सेतो गुलफालाई धुव्र ताराको प्रतीकको रूपमा राखिएको थियो ।
अन्त्येष्टि कार्यक्रमलाई गोन्भिल र काइस कलेजका डिन रिभरेन्ड डा. क्याली ह्यामन्डले सञ्चालन गरेका थिए । चर्चको निजी सहभागी पाँच सय सहभागीमध्ये एडी रेडमाइन पनि थिए । उनले सन् २०१४ मा बनेको हकिङको जीवनमा आधारित फिल्ममा हकिङको भूमिका निभाएका थिए । रेडमाइनले उनको अन्त्येष्टि कार्यक्रममा हकिङका बारेमा बोलेका थिए ।
रेडमाइनका अतिरिक्त हकिङका जेठो छोरा रोबर्ट, हकिङ्का पूर्वविद्यार्थी प्रोफेसर फे डोकर र खगोलशास्त्री मार्टिन राइसले पनि शोक मन्तव्य दिएका थिए ।
क्याम्ब्रिज विश्वविद्यालयको चर्च ग्रेट सेन्ट म्यारी चर्च १३औं शताब्दीमा बनेको थियो । यो क्याम्ब्रिज विश्वविद्यालय जति नै पुरानो मानिन्छ । विश्वको ठूलो घण्टाघर ‘विगवेन’ निर्माणमा नमुनाको रूपमा प्रयोग गरिएको मानिने चर्चको घण्टा अन्त्येष्टि अघि ७६ पटक बजाइएको थियो । हकिङको ७६ वर्षको उमेरमा मार्च १४ मा मृत्यु भएको थियो ।

क्याम्ब्रिजको सडकमा हकिङको मृत्युप्रति पोखिएको माया र दुःख इमानदार र हृदयविदारक देखिन्थ्यो ।

क्याम्ब्रिजमा पूर्वविद्यार्थी करेन स्मार्ट यो अत्यष्टी र्याली हेर्नका लागि क्याम्ब्रिजबाट ८० किलोमिटर टाढाबाट आएकी थिइन् । उनी र उनका श्रीमान चर्चबाहिर शनिबार झिसमिसेदेखि नै पर्खिरहेका थिए ।

“मैले जीवनमा अब प्रोफेसर हकिङजस्तो मान्छे कहिल्यै देख्ने छैन । उनी निक्कै विद्वान र दयालु मानिस थिए ।” स्मार्टले भनिन, “त्यसैले मलाई उनीप्रति सम्मान व्यक्त गर्न यहाँ आउनुपर्छ भन्ने लाग्यो ।”

क्याम्ब्रिजमा पीएचडी गर्दै गरेकी डेजी डिक्सनले हकिङलाई ‘अद्भूद मानिस’को रूपमा सम्झिइन् । २८ वर्षे दर्शनशास्त्रकी विद्यार्थी रहेकी डिक्सनले भनिन्– “म बाँचेको समयमै त्यस्तो अद्भूद मान्छे पनि बाँचेको थियो भन्ने सम्झँदा भने आनन्द लाग्छ । यो दुखद् दिन हो तर पनि उनको सम्मानमा यति धेरै मान्छे देख्दा खुसी लागेको छ ।”

उनको उच्च सफलताको सम्मान स्वरूप हकिङको खरानीलाई विशेष कार्यक्रम गरेर जुन १५ मा सर आइज्याक न्युटनको समाधीको छेउमा (जसलाई त्यहाँ सन् १७२७ मा गाडिएको थियो ।) र चाल्स डार्बिनको नजिक (जसलाई त्यहाँ सन् १८८२ मा गाडिएको थियो ।) राखिनेछ ।


























