रासस

गौशाला, १५ चैत्र । गत शनिबार महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नम्बर ७ सुन्दरपुरमा जेठाजुसँग बुहारीले अवैध सम्बन्ध राखेको आरोप लगाउँदै वडा अध्यक्षले जेठाजु र बुहारी दुवै जनालाई हातखुट्टा बाँधेर चरम यातना दिएपछि दुवै महिला, पुरुष गाउँबाट विस्थापित भएका छन् ।

सोनमा गाउँपालिका–७ सुन्दरपुरका वडा अध्यक्ष महेश (महेशी) यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा धोबी र उनका भाइ बुहारी ३५ बर्षीया सैरुल खातुनलाई वडा कार्यालयमै ल्याएर हातखुट्टा बाँधी कुटपीट गरेर चरम यातना दिएपछि बुधबारदेखि उनीहरु घरबाट हराएका छन् ।

घटनासम्बन्धी स्थलगत सोधखोज गर्न सञ्चारकर्मीको टोली बुधबार उनीहरुको गाउँ सुन्दरपुर पुग्दा उनीहरु आ–आफ्ना घरमा फेला परेनन् भने छिमेकीहरुले उनीहरुलाई वडा अध्यक्षले कुटपीट गरेर चरम यातना दिएपछि बुधबारदेखि नै उनीहरु घर छाडेर गइसकेको बताए ।

छिमेकीहरुले नाम नलेख्ने शर्तमा दुवै महिला पुरुष थप यातना र कुटपीटको डरले घर र गाउँ नै छोडेर अचानक हराएको बताए ।

स्थानीयवासीहरुका अनुसार दुवै जनालाई सुन्दरपुर वडा कार्यालयको सभाकक्षको ढोका बन्द गरेर गरिएको पञ्चायतमा बाँसको लट्ठी ९कर्ची०ले कुटपीट गरेपछि उनीहरुले फेरी पटकपटक बोलाएर थप यातना दिने डरले गाउँ नै छाडेर बेपत्ता भएका छन् ।

गत शनिबार दुवैमाथि पञ्चायत गर्नुपर्ने भन्दै बोलाएर वडा कार्यालयमा गाउँका भूतपूर्व अध्यक्ष रामेश्वर यादवले पीडित ईसराफिलकै कमरको लँुगी खोलेर खुट्टा बाँधे । घाँटीको गम्छा खोसेर हात पनि बाँधिदिए । त्यस्तै, पीडित महिला सैरुललाई बीचमै बसाएर वडा अध्यक्ष आफैँ र स्थानीयवासी अमृत यादवसमेतले दुवै जनालाई मरन्णासन्न हुने गरी कुटेर चरम यातना दिएका थिए ।

अहिले सो गाउँमा जताततै उनीहरुकै कुरा हुने गरेको छ भने उनीहरु कहाँ गएका छन् भन्नेबारे कसैलाई केही थाहा नभएको स्थानीयावासी बताउँछन् ।

यस घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धान गर्न थालेपछि सो वडाका वडा अध्यक्ष महेश यादव पनि हिजोदेखि गाउँमा नरहेको देखिएको छ । स्थानीयवासीले उनी कुनै विशेष काम परेको भन्दै गाउँबाट भागेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!