काठमाडौं, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा पहिलोपटक आज सम्बोधन गर्दै छिन् । राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो बैठक २१ फागुनमा बसेको थियो । २९ फागुनमा भण्डारी दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । संघीय संसदको पहिलो अधिवेशनमा दुबै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सम्बोधनको समय तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा हलमा संयुक्त बैठक
संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बिहीबार प्रतिनिधिसभा हलमा बस्ने भएको छ । प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ सांसद प्रतिनिधिसभाको हलमा अट्ने भएकाले सो हलमा संयुक्त बैठक बस्ने संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए । संयुक्त बैठकको अध्यक्षता प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गर्नेछन् ।
संघीय संसद् सञ्चालनको अन्तरिम कार्यविधि तथा अन्तर्राष्ट्रिय प्रचलन नै तल्लो सदनको सभामुखले संयुक्त बैठकको अध्यक्षता गर्ने रहेको सचिवालयका सहसचिव सुरजकुमार दुराले बताए । उनले भने, ‘संयुक्त बैठकमा राष्ट्रिय सभाको अध्यक्ष र प्रतिनिधिसभाको सभामुख दुवै हुने भए पनि अन्तर्राष्ट्रिय प्रचलन तल्लो सदनको सभामुखले अध्यक्षता गर्नेछ । हाम्रोमा पनि त्यही अभ्यास हुँदै छ ।’
विशिष्टलाई निमन्त्रणा
राष्ट्रपतिको सम्बोधन हुने भएकाले सचिवालयले विशिष्ट व्यक्तिलाई निमन्त्रणा गरेको छ । यसअघिको ६०१ सदस्यीय संविधानसभा रहेकै हलमा प्रतिनिधिसभा हल पुनर्संरचना गरिएकाले अन्य अतिथिलाई आमन्त्रण गर्न सहज भएको सचिवालयले जनाएको छ । अपराह्न ४ बजे बस्ने संघीय संसद्को बैठकका लागि अपराह्न ३ः३० बजेभित्र संसद् भवनमा पुगिसक्न सचिवालयले सांसद, पत्रकार तथा अन्य अतिथिलाई आग्रह गरेको छ ।


















