कारोबार दैनिक

काठमाडौं, ७ चैत । वैदेशिक व्यापारमा नेपालले ७ रुपैयाँ बराबरको वस्तु निर्यात गरेर ९३ रुपैयाँ बराबरको आयात गरिरहेको छ । नेपालमा उत्पादन कम हुने र उत्पादित वस्तुको बजारीकरणसमेत हुन नसक्दा आयात–निर्यात अनुपात फराकिलो बन्दै गएको हो ।

Advertisement

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको सात महिनामा नेपालले ६ खर्ब ६१ अर्ब रुपैयाँको आयात गरेर ४७ अर्ब ५० करोड रुपैयाँको निर्यात गरेको छ । यसरी आयात बढ्दै गए पनि सोही अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकको व्यापारघाटा चुलिँदो अवस्थामा रहेको तथ्यांकले देखाएको छ ।

स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नु, आयात प्रतिस्थापन गर्न सरकारसँग कुनै ठोस योजना नहुनु र भएका योजनाको पनि कार्यान्वयनमा समस्यालगायतका कारणले आयात दिनप्रतिदिन बढ्दै गएको छ ।

केन्द्रका कार्यकारी निर्देशन शरदविक्रम राणाले आयात प्रतिस्थापन गर्ने योजना सरकारले प्राथमिकतामा राखे पनि दिनप्रतिदिन व्यापार घाटा बढ्दै जानु चिन्ताको विषय भएको बताए । “स्थानीयस्तरमा उत्पादन गर्न सकिने सम्भावना भएका वस्तुको आयातसमेत बढिरहेको छ,” कार्यकारी निर्देशक राणाले भने, “निकासीजन्य वस्तु तथा सेवाको उत्पादन बढाएर बढदो व्यापारघाटा कम गर्न सकिन्छ ।” निर्यात प्रवद्र्धनका लागि केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै उनले उच्च सभ्भावना भएका वस्तु तथा सेवाको उत्पादन गरेर निर्यात बढाउन सके व्यापारघाटा कम गर्नसकिने बताए ।

“सात महिनामा कृषिजन्य वस्तुको आयातमात्र ११.४३ प्रतिशतले बढेको छ,” उनले भने, “स्थानीय स्तरमा उत्पादन गर्न सकिने वस्तुको उत्पादन बढाएर आयात प्रतिस्थापन गरेमात्र व्यापार घाटा कम गर्न सकिन्छ ।” मुलुकको बढ्दो व्यापारघाटा कम गर्न अन्तरसरकारी निकायको समन्वय अतिआवश्यक रहेको उनको भनाइ छ ।

केन्द्रका अनुसार यस अविधिमा सबैभन्दा धेरै ८५ अर्ब २६ करोडको पेट्रोलियम पदार्थ, ७० अर्बको मेशिनरी तथा पार्टस, ६९ अर्ब ३६ करोडको फलाम तथा स्टील र तिनका उत्पादन, ४९ अर्ब ८४ करोडको यातायातका साधन, २५ अर्बको विद्युतीय सामग्री १६ अर्बको औषधि आयात भएको छ । यस्तै, २० अर्बका दूरसञ्चार सामग्री, १७ अर्ब ७३ करोडको सुन, ६ अर्ब ९१ करोडको चाँदी, १३ अर्ब ५० करोडको सिमेन्ट क्लिङ्कर र २३ अर्ब ४३ करोडको खाद्यान्न आयात भएको छ । आयातदर बढ्दै गएपछि सात महिनामा मुलुकको व्यापारघाटा १९.१ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब ७२ करोड पुगेको केन्द्रको तथ्याङले देखाएको छ ।

सात महिनामा मुलुकबाट ऊनी गलैंचा, तयारी पोसाक, फेल्टका सामान, मुसुरोको दाल, पोलिष्टर, धागो, हस्तकलाका सामान, चाउचाउ, टुथपेष्ट, अलैँची, चिया, अदुवा, पश्मिना सल, जडिबुटी लगायतका उत्पादन निर्यात भएका छन् । सात महिनामा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा १८.१ प्रतिशतले बढेर ७ खर्ब ८ अर्ब ७२ करोड पुगेको छ । जसमा निर्यात ६.७ प्रतिशत र आयात ९३.३ प्रतिशत रहेको छ । नेपालको कुल निर्यात भने ११.९ प्रतिशतले वृद्धि भएकोमा आयात १८.६ प्रतिशतले वृद्धि भएको केन्द्रको तथ्यांकले देखाएको छ ।

केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतसँग नेपालको व्यापारघाटा दिनप्रतिदिन बढ्दै गएको छ । नेपालको कुल वैदेशिक व्यापारमा दुईतिहाई हिस्सा रहेको भारतसँग व्यापार सबैभन्दा धेरै र त्यसपति छिमेकी मुलुक चीन र जर्मनीसँग व्यापारघाटा रहेको छ । सात महिनामा भारतबाट ४ खर्ब ३२ अर्ब २९ करोडको आयात निर्यात भने २७ अर्ब रहेको छ । यस्तै चीनबाट ८८ अर्ब ५७ करोडको आयात भएकोमा निर्यात पाँच अर्बको रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!