नवलपरासी, ५ चैत । पूर्व नवलपरासी नवलपुरको लोकाहामा आजदेखि नेपालकै पहिलो परासर प्रतीक कुम्भ मेला शुरु भएको छ । चैत २५ गतेसम्म चल्ने मेला कावासोती नगरपालिका–११ लोकाहामा शुरु भएको हो ।

नेपाललाई धार्मिक पर्यटनस्थलका रुपमा स्थापित गर्ने र वैद्धिक सनातन हिन्दू धर्मको रक्षाका लागि कुम्भ मेलाको आयोजना गरिएको संकल्पकर्ता देवाचार्यजी महाराजले बताउनुभयो ।

देश विदेशबाट नेपालका तीर्थमा भ्रमण गर्न आउने श्रद्धालु भक्तजनका निम्ति एक विशाल धर्मशाला एवं अन्न क्षेत्र निर्माण गर्ने, वैदिक कामधेनु गौ संरक्षणार्थ आधुनिक सुविधायुक्त गौशालाको निर्माण तथा गौ धनको प्रशोधन केन्द्र स्थापना गर्ने मेलाको लक्ष्य छ ।

शालिग्रामको विश्वकै पहिलो मन्दिर निर्माण गर्ने, नेपालमा पाइने जडीबुटीको महत्वलाई विश्वसामु चिनाउने र सेवा गर्ने उद्देश्यले जडीबुटी संकलन एवं प्रशोधन केन्द्र स्थापनालगायतका धार्मिक क्षेत्रको पहिचान झल्काउने र समग्रमा ऋषि परम्पराको संवद्र्धन गर्ने उद्देश्यले कुम्भ मेलाको आयोजना गरिएको स्वामी सञ्जेल महाराजले जानकारी दिनुभयो ।

परासर कुम्भ मेला २० दिनसम्म चल्नेछ । मेलामा मुख्य आकर्षकका रुपमा कोटीहोम महायज्ञ, शतचण्डी महायज्ञ, महारुद्राभिषेक, संगीतमय श्रीमद्देवी भागवत महापुराण, शिव महापुराण तथा श्रीमद्भागवत महापुराण वाचन विशेष कार्यक्रम, धनधाञ्याचल, तण्डुलाचल, योग ध्यान तथा आयुर्वेद विज्ञान शिविर तथा बाल संस्कार कार्यक्रम रहने छन् ।

यसैगरी २५२ तीर्थको जल समाहित गरिएको विशाल कुम्भ (घडा) को दर्शन, रासलीला, झाँकी तथा विभिन्न रीतिरिवाजका सांस्कृतिक कार्यक्रम, तुलादान, भूमिदान, गौदानलगायत विभिन्न कार्यक्रम गरिने मेलाका संकल्पकर्ता राष्टयोगी श्री श्रीधामशरण देवाचार्यजी महाराजले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!