काठमाडौँ, २९ फागुन ।  सोमबार दुर्घटनामा परेको यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिन बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ ।

बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली नेपाल आएको हो ।

Advertisement

उच्चस्तरीय सरकारी टोली यूएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिनुभयो ।


गृह मन्त्रालयका अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ । मृत्युहुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए ।

बंगलादेशको उच्चस्तरीय टोली केहीबेरअघि काठमाडौँ आइपुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार बंगलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्तसमेत छन् ।

यसअघि सोमबार विमान दुर्घटनापछि लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराउनुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!