काठमाडौं, २९ फागुन । वाणिज्य बैंकहरूबीच ब्याजदरका विषयमा देखिएको विवाद टुंगिएको छ । ब्याजदरका सम्बन्धमा वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबिए) र एनआइसी बैंकबीच सहमति भएपछि विवाद टुंगिएको हो । एनबिएले तोकेको ब्याजदर कायम गर्न एनआइसी–एसिया तयार भएपछि ऊसँगको अन्तरबैंक कारोबार फुक्का गर्न बैंकर्स संघसमेत सहमत भएको छ ।

एनबिआई–एनआइसीबीच देखिएको विवाद समाधान भएको अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए । मुलुकको अर्थतन्त्र र बैंक तथा वित्तीय संस्थाको बृहत्तर हितका लागि बैंकरहरू एकठाउँमा हुनुपर्ने भएकाले आपसमा सहमति भएको उनले बताए । ‘एनबिएमा बसेर हामी २८ वटै वाणिज्य बैंकहरूले जे निर्णय गरेका थियौँ, त्यो बृहत्तर हितका लागि गरिएको थियो,’ उनले भने, ‘त्यसैले सोही निर्णयअनुसार अहिलेलाई बचतमा ८ र मुद्दतीमा ११ प्रतिशतको ब्याजदरको सीमा सबैले मान्ने गरी सहमति भएको हो ।’ एनबिएको उक्त निर्णयलाई एनआइसीले मान्ने सहमति जनाएको उनले बताए ।

Advertisement

यसअघि एसोसिएसनले वाणिज्य बैंकहरूबीच भएको सहमति तोडेको आरोप लगाउँदै एनआइसी एसियासँग अन्तर–बैंक कारोबार नगर्ने निर्णय गरेको थियो । बैंकहरूबीच १८ फागुनमा बचतको ब्याजदर ८ प्रतिशतभन्दा नबढाउने सहमति भएको थियो । एनआइसी एसियाले उक्त सहमतिविपरीत बढी ब्याज दिएको भन्दै एसोसिएसनले एनआइसीसँग कुनै पनि अन्तर–बैंक कारोबार नगर्ने निर्णय गरेको थियो । तर, एनआइसी एसियाले भने ब्याजदरमा सीमा लगाउने अधिकार एसोसिएसनसँग नभएको भन्दै उसको निर्णयको विरोध गरेको थियो । यद्यपि, पटक–पटक भएको छलफलपछि एनआइसी एसिया सहमतिअनुसार ब्याजदर कायम गर्न तयार भएपछि विवाद समाधान भएको उनले बताए ।

एनआइसी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुदीपनाथ पाण्डेले एनबिए र एनआइसी एसियाबीच विवाद समाधानको सहमति भएको बताए । यद्यपि, त्यसले पूर्णता भने मंगलबार मात्रै पाउने उनले जानकारी दिए । ‘एनबिएको निर्णय आफैँमा ठीक थिएन, यद्यपि सबैको हितका लागि मिलेर जानुको विकल्प छैन,’ उनले भने, ‘विवाद सुरु भएदेखि नै छलफलहरू पनि नभएका होइनन्, सोमबार एकखाले सहमति भएको छ जसले मंगलबार पूर्णता पाउनेछ ।’

ब्याजदरसम्बन्धी सहमति एनआइसी एसियाले मात्रै नतोडेको उनको दाबी छ । ‘एउटा बैंकलाई मात्रै एक्ल्याउनु भएन, अरूले पनि सहमति मानेका छन् कि छैनन् त्यो हेर्नुपर्छ,’ उनले भने, ‘हामी सधैँ प्रणालीमा असर नपरोस् भन्ने चाहन्छौँ र सोहीअनुसार अघि बढेकै छौँ ।’

ब्याजदरका सम्बन्धमा बैंकहरूबीच विवाद हुनु राम्रो नभएको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले बताए । ‘यस विषयमा कुनै पक्ष पनि उत्तेजित हुनु उचित हुँदैनथ्यो, मुलुकको बृहत्तर हित तथा बैंकिङ क्षेत्रको हितका लागि पनि बैंकहरू मिल्नुको विकल्प थिएन,’ उनले भने । ब्याजदरलाई अस्वाभाविक रूपमा बढ्न नदिनका लागि बैंकहरूबीच भद्र सहमति हुनु राम्रो भएको उनले बताए । त्यो सहमतिलाई सबैले मानेर अघि बढ्नु नै उचित हुने उनले बताए ।

नेपाल राष्ट्र बैंकले समेत ब्याजदरसम्बन्धी विवाद बैंकहरूले आपसी छलफलद्वारा समाधान गर्नुपर्ने बताएको छ । ‘नेपाल राष्ट्र बैंकले करिब ३ दशकअघिदेखि नै ब्याजदर निर्धारणको जिम्मा बजारलाई छोडिदिएको छ, त्यसैले बैंकहरूले प्रतिस्पर्धा कायम हुने तर अस्वस्थ प्रतिस्पर्धासमेत नहुने गरी ब्याजदर तय गर्नुपर्छ । उनीहरूबीच कुनै विवाद भए आफैँले समाधान गर्नु उचित हुन्छ,’ उनले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!