काठमाडौँ, २३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिका रुपमा आफ्नो पहिलो कार्यकाल देशका लागि खुला किताबजस्तो रहेको बताउनुभएको छ ।

दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीको “राष्ट्रपतिको भूमिका तटस्ग भएन भन्ने आरोप छ नि” भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो, “यो कसैकसैको आरोप हो, मैले जे गरेको छु, देशका लागि खुला किताबजस्तो छ । यथार्थ कुरा बाहिरी आँखाले मात्र होइन, भित्रको आँखाले मूल्यांकन गर्न आवश्यक ठान्छु । ”
देशको हितलाई सर्वाेपरि राखेर नेपालको संविधानको मूल भावना र मर्मअनुरुप आफूले काम गरेको बताउँदै उहाँले भन्नुभयो, “यहाँहरुले त्यसको राम्रो मूल्यांकन गर्नुहुनेछ ।”

आफूले उम्मेदवारी दिएपछि सबैजसो राजनीतिक दलबाट समर्थन पाएको बताउँदै राष्ट्रपति भण्डारीले निर्वाचनमण्डलबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले राजनीतिक दल, सांसद र सञ्चार क्षेत्रबाट हालसम्म पु¥याइएको समर्थन तथा भोलिका दिनको सहयोगका लागि आभार र कृतज्ञता प्रकट गर्नुभयो ।
यसैबीच नेकपा (एमाले)का नेता सुवास नेम्वाङले नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपतिका रुपमा छोटो कार्यकालमा राष्ट्रपति भण्डारीबाट निर्वाह भएको भूमिकालाई ध्यानमा राखेर पार्टीले दोस्रो कार्यकालका लागि उहाँलाई नै उम्मेदवार छनोट गरेको प्रतिक्रिया दिनुभयो । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिनुलाई आफूले सम्मानकै रुपमा ग्रहण गरेको उहाँले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!